नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

काठमाडौं। पाकिस्तानसँगको हारपछि नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकपमा सानदार पुनरागमन गरेको छ।
मंगलबार दिनको पहिलो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।
दिल्लीमा सम्पन्न खेलमा टस जितेर नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले नामिबियालाई पहिले ब्याटिङको निम्तो दिएका थिए।
निर्धारित ओभरमा नामिबियाले ८ विकेट गुमाउँदै १५६ रन बनायो। नामिबियाका लागि ज्यान निकोल लफ्टिए–इटनले ४२ रन बनाउँदा ज्यान फ्राइलिन्कले ३० र जेजे स्माथले २२ रनको योगदान दिए।
नेदरल्यान्ड्सको बलिङमा आठ बलर प्रयोग गरिएको थियो। लोगान भान बेक सबैभन्दा सफल रहे। उनले ३ ओभरमा मात्र १३ रन खर्चेर २ विकेट लिए। बास डि लिडले पनि २ विकेट हात पारे। आरियन दत्त र फ्रेड क्लासेनले समान १–१ विकेट लिए।
१५७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले सुरुआतमै ओपनर म्याक्स ओ’डाउडको विकेट गुमायो। तर, त्यसपछि डि लिड र कोलिन एकरम्यानले इनिङ्स सम्हाले। डि लिडले ७२ रनको अविजित इनिङ्स खेले भने एकरम्यानले ३२ रन जोडे। ओपनर माइकल लेभिटले पनि २८ रन बनाए।
नेदरल्यान्ड्सले २ ओभर बाँकी छँदै ७ विकेटको फराकिलो जित हासिल गर्यो। यस जितसँगै नेदरल्यान्ड्सको नेट रन रेटमा समेत सुधार आएको छ।
समूह ‘ए’ मा दुई खेल खेलेको नेदरल्यान्ड्स एक जित र एक हारसहित २ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। रन रेटका आधारमा पाकिस्तान तेस्रो स्थानमा छ भने भारत समूहको शीर्ष स्थानमा रहेको छ।












