‘लेगेसी’ को परीक्षामा श्रीलंका

टी–२० विश्वकप २०२६ विशेष
कहिल्यै नथाक्ने लडाकु टोलीको उपनामलले चिनिन्थ्यो, श्रीलंका।
तर, टी–२० क्रिकेटमा यो उपनाम पछिल्ला वर्षहरूमा सम्झनामा मात्रै सीमित हुँदै गएको छ। २०२२ को सुरुआतयता श्रीलंकाले कुनै पनि क्यालेन्डर वर्षमा जितभन्दा बढी हार बेहोरेको छ। टेस्ट र वनडेमा कहिलेकाहीँ आशाको किरण देखिए पनि टी–२० ढाँचामा यो टोलीको निरन्तरता हराएको छ।
यही अन्योलका बीच श्रीलंका टी–२० विश्वकप २०२६ मा प्रवेश गर्दैछ। विश्वकपअघि कप्तानी फेरबदलले श्रीलंकाको अन्योललाई अझ प्रस्ट बनाइदिएको छ।
दसुन शनाकाले फेरि कप्तानी जिम्मेवारी पाउनु नयाँ सुरुआतभन्दा बढी अस्थायी समाधानजस्तो देखिन्छ। कोचिङ स्टाफ निरन्तर दबाबमा छन्। त्यो दबाब हालको नतिजामा स्पष्ट झल्किन्छ।

जिम्बाब्वेसँगको अप्रत्याशित हार, पाकिस्तानसँगको संघर्षपूर्ण सिरिज र घरेलु मैदानमै इङ्ल्यान्डसँगको पराजयले श्रीलंकाको तयारीमाथि प्रश्नचिह्न खडा गरेको छ।
यति हुँदाहुँदै पनि यो टोली पूर्ण रूपमा आशाहीन छैन। पथुम निसंका श्रीलंकाका लागि सबैभन्दा भरपर्दा नाम हुन्। वनडेमा दोहोरो शतक र टी–२० आईमा शतक बनाइसकेका निसंकाको आत्मविश्वास र खेल्ने शैलीले श्रीलंका विश्वकपमा फरक देखिन सक्छ।
वानिन्दु हसरंगाका आँकडा अहिले सामान्य देखिएको छ। तर, उनको खेल बदल्ने क्षमतालाई कुनै पनि टोलीले बेवास्ता गर्न सक्दैनन्। घरेलु परिस्थितिमा दुनिथ वेल्लालगे विपक्षी ब्याटरमाथि हावी हुन सक्छन् र दुष्मन्त चमीरा लयमा आए भने तीव्र गतिका बलरहरूको आक्रमणलाई दिशा दिन सक्छन्।

समस्या भनेको यो टोलीमा यति धेरै प्रतिभावान् खेलाडी भएपनि लामो समयदेखि जित दिलाउने प्रदर्शन गर्न सकेको छैन। श्रीलंकाली समर्थकहरूका लागि विगत अझै ताजा छ। २००९ देखि २०१४ सम्म लगातार चार पटक सेमिफाइनल पुग्नु र २०१४ मा ढाकामा उपाधि जित्नु कुनै सानो उपलब्धि थिएन।
तर, त्यसपछि विश्वकपको नकआउट चरणसम्म पनि नपुग्नुले श्रीलंका कति खस्किएको छ भनेर प्रष्टै देखाउँछ। यो गिरावट आकस्मिक होइन, बरु संरचनागत कमजोरीको परिणाम हो।
यस विश्वकपमा पनि श्रीलंकाको यात्रा केही सीमित नाममा निर्भर देखिन्छ। निसंकासँगै हालै वनडेमा शतक बनाएर चर्चा कमाएका पवन रत्ननायकेबाट धेरै अपेक्षा गरिएको छ। उनी युवा उत्साह र निडर शैलीको प्रतीक बन्न सक्छन्।

अर्कोतर्फ, कुशल परेराका लागि यो सम्भवतः अन्तिम विश्वकप हुनेछ। पछिल्ला महिनामा क्रिकेटको छोटो फर्म्याटमा नखेले पनि ठूलो प्रतियोगितामा उनी टोलीमा फर्किने गरेका छन्। उनको अनुभवको महत्त्व फरक हुन्छ।
संकटको क्षणमा उनले श्रीलंका फेरि उकास्न सक्ने क्षमता राख्छन्। उनीजस्ता खेलाडीको अनुभवलाई नै प्रयोग गरेर श्रीलंकालाई आफ्नो ‘लेगेसी’ फर्काउनुको विकल्प हुनेछैन।
अन्य लेख














