एजेन्सी । डेनमार्कलाई नकआउट पुग्न बराबरी पर्याप्त छ । जितले समूह विजेता बन्ने अवसर उसलाई छ । तर,प्रतिद्वन्द्वीको रुपमा बलियो युरोपेली मुलुक फ्रान्स अगाडी उभिएको छ । कम्तिमा बराबरीले फ्रान्स समूह विजेता बन्ने समिकरण तय छ ।
एक खेल अगावै नकआउट चरण पुगेको फ्रान्सको मुख्य जोड, खेलमा सुधार गर्दै प्रि क्वार्टरफाईनलको लागि तयार रहनु हुनेछ । डेनमार्कसंग पराजित भएमा फ्रान्स, समुह उपविजेताको रुपमा क्रोएसियासंग भिड्नु पर्नेछ । प्रतियोगिताको उत्कृष्ट फर्ममा रहेको क्रोएसियासंगको सम्भावित भिडन्त टार्न समेत फ्रान्सले जितका लागि मेहनत गर्नेछ ।
फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पसामु डेनमार्कविरुद्धको खेलमा नयाँ खेलाडीलाई अवसर दिएर बलियो टिम बनाउने अबसर प्राप्त छ । स्टार स्ट्राईकर एन्टोनी ग्रिजम्यानले अष्ट्रेलियाविरुद्ध पेनाल्टीमा गोल गरे । तर उनको सुरुवात निकै सुस्त छ । तर प्रतियोगितामा उनले राम्रो पुनरागमन गर्न सक्ने फ्रान्सको अपेक्षा छ ।
डेनमार्क नकआउट चरणमा स्थान बनाउन चाहन्छ । उसले समुह चरणको खेलमा अष्ट्रेलियासंग बराबरी खेलको थियो भने पेरुलाई पहिलो खेलमा हराएको थियो । टोटनह्यामका खेलाडी क्रिस्टियन इरिक्सन र लेष्टर सिटीका गोलकिपर कास्पर सिमाईकलको प्रर्दशनमै डेनमार्कको भविष्य धेरै हदसम्म निर्भर रहने छ ।
डेनमार्क प्रशिक्षक एज हेराईड फ्रान्सविरुद्धको खेलमा जित निकाल्दै नकआउट चरणमा स्थान पक्का गरिने दाबी गर्छन् । ‘पक्कै पनि बराबरी नकआउट चरण पुर्राउन पर्याप्त रहन्छ ।’ उनले भने, ‘तर त्यो खेल सुरुवात गर्ने राम्रो बाटो होईन । यदी खेलाडीलाई त्यसरी उतार्ने हो भने यसले टोलीलाई राम्रो गर्दैन ।’
बराबरीको नतिजा दुवै टोलीको हितमा हुन सक्छ । तर, फ्रान्सेली प्रशिक्षक डेसच्याम्प खेलको नतिजा विपक्षीलाई दिन नसकिने बताउछन् । ‘हामी उनीहरुलाई सहज नतिजा निकाल्न दिने पक्षमा छैनौ । हाम्रो लक्ष्य जित सहित पहिलो स्थान सुरक्षित गर्नु हुनेछ ।’ उनी भन्छन् ।
फ्रान्स र डेनमार्क समुह चरणको अन्तिम खेलमा २ पटक भिडेका छन् । सन् १९९८ मा भएको खेलमा फ्रान्स २–१ ले विजयी भएको थियो । सन् २००२ मा भएको विश्वकपमा डेनमार्कले २–० को जित निकालेको थियो । दुवै टोलीले विश्वकपको अन्तिम चरणको खेललाई श्रेष्ठताको लडाँईको रुपमा लिएको भान हुन्छ ।
डेनमार्क फ्रान्ससंग पराजित भएको खण्डमा अष्ट्रेलियाको नकआउट चरण प्रवेशको सम्भावना खुल्नेछ । त्यसका लागि उसले पेरुलाई हराउदै राम्रो गोल अन्तरको नतिजा निकाल्नु पर्नेछ । फ्रान्स ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहदाँ दोस्रो स्थानको डेनमार्कको ४ अंक छ ।
अष्ट्रेलिया १ अंक सहित तेस्रो स्थानमा रहदा पेरु अंक विहिन हुदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।