एनपीएल कि स्थानीय मेला?
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) जस्तो ठूलो संरचना र महत्त्व राख्ने प्रतियोगितामा निरन्तर देखिन थालेका प्राविधिक त्रुटिले अब यसको विश्वसनीयतामै प्रश्न उठ्न थालेको छ।
साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेलमै डिजिटल स्कोरबोर्ड बन्द हुनु र त्यस दिन अधिकांश समय मिडिया बक्सलगायत महत्त्वपूर्ण स्थानमा बत्ती कटिनुजस्ता घटनाले प्रारम्भदेखि नै व्यवस्थापनलाई कटघरेमा उभ्याइदिएको थियो। त्यो समस्या पछि केही हदसम्म सुधारियो। तर, अहिले भने मैदान उज्यालो पार्ने फ्लड लाइटमै समस्या देखा पर्न थालेको छ।
लिगको २१औं खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिडिरहँदा यही समस्या देखियो। पहिलो इनिङ्सको १७औं ओभरमै फ्लड लाइटको आधा भाग निभ्यो। यो श्रृंखलाको पछिल्लो ठूलो त्रुटि उजागरसम्म गरेको छ।

यस घटनाले अन्तर्राष्ट्रिय खेलाडी सहभागी प्रतियोगिता अहिले स्थानीय मेलाजस्तै कमजोर व्यवस्थापनमा चलिरहेको टिप्पणी हुन थालेको छ। मैदानमा रहेका जेसन रोय र एडम रोसिङटनले अम्पायरलाई उज्यालो पर्याप्त नभएको गुनासो गरेका थिए। तर, अम्पायरले लाइट मिटर प्रयोग गरे। त्यसपश्चात प्रकाश पर्याप्त रहेको उनलाई जवाफ दिए।
केही समय खेल रोकिनुपर्ने अवस्था पुन: सुरु गरियो। तर, भिजिबिलिटी स्पष्ट रूपमा कमजोर भएको खेलाडीहरूले महसुस गरिरहे। त्यही ओभरमा रोय नन्दन यादवको बलमा क्याच आउट भए।
आउटपछि उनको अनुहारमा असन्तुष्टि झल्किएको थियो। रोयले मैदान छाड्दै रिजर्भ अम्पायरसँग कमजोर व्यवस्थापनप्रतिको टिप्पणी पनि गर्न भ्याए। रोसिङटनले पनि अन–फिल्ड अम्पायरसँग गुनासो दोहोर्याए।
सबैभन्दा बढी प्रश्न उठाउने तथ्य भनेको रोय आउट भएको केही मिनेटमै फ्लड लाइट पूर्ण क्षमतामा पुनः बल्नु रह्यो। यसले खेलाडीहरूको शंका झन् बढायो। खेलको महत्त्वपूर्ण मोडमै उज्यालो घट्नु, खेलाडी असन्तुष्ट हुनु, आउट हुनु र त्यसपछि मात्रै लाइट ठीक हुनु यी सबै घटनालाई संयोग भनेर पन्छाउन सकिने स्थिति रहेन।
एनपीएल आयोजक नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले गत वर्षदेखि स्तर बढाउने आश्वासन दिँदै आएका छन्। तर, फ्लड लाइट, स्कोरबोर्ड, प्रसारणलगायत प्रायः सबै क्षेत्रमा बारम्बार कमजोरी देखिन्छ। यसले के यस्तै तयारी र व्यवस्थापनले हामी अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई नेपाल आएको हेर्ने अपेक्षा राख्न सक्छौं? भन्ने प्रश्न गर्छ।
दर्शकको भरोसा, खेलाडीको विश्वास र प्रतियोगिताको प्रतिष्ठा यी सबै कुरा व्यवस्थापनमा जोडिन्छ। तर, यस्तो लापरवाहीले एकै क्षणमा प्रतिष्ठा नगुम्ला भन्न सकिँदैन। मंगलबारको घटना प्रविधिको समस्या होइन। यो व्यवस्थापनको अपारदर्शिता, कमजोर योजना र खेलप्रतिको लापरवाहीको प्रत्यक्ष उदाहरण पनि हो।
यदि एनपीएलले यस्ता त्रुटिको तत्काल समाधान गर्दै पारदर्शी ढंगमा जवाफ दिन सकेन भने भविष्यमा यसको विश्वसनीयता र आकर्षण दुवै घट्ने देखिन्छ। किनभने खेलको उद्घाटनदेखि नै अम्पाएको निर्णायप्रति विदेशी खेलाडी र प्रशिक्षकको प्रश्न कयौं छन्।
ती प्रश्नको उत्तर आयोजकले अझै दिन सकेका छैन। यस्तो अवस्थामा कयौं देशमा फ्रेन्चाइज क्रिकेट खेलेका खेलाडीलाई अम्पायरले नै गुम्राहमा पार्न खोज्नु अर्को मूर्खता देखिन्छ। यसले झिलिमिली झैं निभेको फ्लड लाइटजस्तै, एनपीएलको छविको उज्यालो पनि क्रमशः फिका बनाउँदै जाने देखिन्छ।








-1764662383271.webp&w=3840&q=75)


-1764668485959.png&w=3840&q=75)
