चितवनमाथि सानदार जित, जनकपुरको प्लेअफ यात्रालाई कायमै

काठमाडौं। माज सदाकत र अनिलकुमार साहको अर्धशतकसँगै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित निकालेको छ।
मंगलबार सम्पन्न खेलमा जनकपुरलले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो। चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनायो।
जितसँगै जनकपुरले ५ खेलबाट २ अंक जोडेको छ। चितवनको भने ५ खेलबाट ४ अंक छ। अब जनकपुरले लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्ने छ। बाँकी खेलमा पनि जनकपुरले फराकिलो जित निकाल्नुपर्ने छ। अन्य टोलीले पनि जनकपुरको फेभरमा खेल्दिए प्लेअफ सम्भावना बलियो हुनेछ।
जनकपुरका ओपनर सदाकतले सर्वाधिक ६३ रन बनाए। ३० बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे। अनिलले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए।
यी दुईबाहेक आसिफ शेख १८ र जान निकोल लोफ्टी–इटन ११ रनमा आउट हुँदा आदित्य महता १८ र सञ्जय कृष्णमुर्ति ५ रनमा अविजित रहे।
चितवनका सोहिल तान्वीर, कमलसिंह ऐरी र अमर रौटेलाले समान १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
चितवनका ओपनर डाभिड मलानले सर्वाधिक ८० रन बनाए। ५४ बलमा उनले ४ चौका र ५ छक्का प्रहार गरे।
अर्जुन साउदले ३९ बलमा ४ चौका र ३ छक्कासहित ५२ रन बनाए। यी दुईको जारी प्रतियोगितामा पहिलो अर्धशतक हो।
कप्तान कुशल मल्लले अविजित ३० रनको योगदान दिए। जनकपुरका अनिलकुमार साह, रुपेश सिंह, जान निकोल लोफ्टी–इटन र माज सदाकतले समान १ विकेट लिए।






-1764662383271.webp&w=3840&q=75)


-1764668485959.png&w=3840&q=75)


