काठमाडौं । मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा बर्षाका कारण स्थगित पहिलो सेमिफाईनलको खेल आज हुने भएको छ । बिहिबार हुने तय भएको विभागीय एपीएफ र रिस्सो विश्वविद्यालय बीचको पहिलो सेमिफाईनलको खेल बर्षाका कारण स्थगित भएको थियो ।
स्थगित भएको खेल आज दिउँसो खेलाउने निर्णय भएको कास्की जिल्ला फुटबल संघका महासचिव रमेश कार्कीले खेलपाटीलाई बताए । लगातार बर्षाले मैदान प्रभावित भएपछि बिहिबारको खेल स्थगित भएको थियो ।
एपीएफ र रिस्सोबीचको पहिलो सेमिफाईनलको खेल आज दिउँसो साँढे २ बजे पोखरा रंगशालामा सुरु हुनेछ । शुक्रबारको लागि तय भएको मनाङ र दाउफिन्सबीचको खेल भोली शनिबारलाई सारिएको छ ।
एपीएफले रुस्लान थ्री स्टार क्लबलाई १–० ले पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेको थियो । जापानको रिस्सो विश्वविद्यालयले नेपाल पुलिसलाई स्तब्ध पार्दै सेमिफाईनल यात्रा तय गरेको थियो ।
पोखरा कप खेल्न जापानको टोली नेपाल आएको हो । प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार पाउनेछ । उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा ए डिभिजन क्लब सहित ११ टिमको सहभागिता रहेको छ ।