एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरण अन्तिम खेलमा इरानविरुद्ध पोर्चुगलले अग्रता दोब्बर बनाउने मौका गुमाएको छ ।
मोर्डोभिया एरिनामा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा पोर्चुगलले २ - ० को अग्रता बनाउन चुकेको हो । खेलको ५३ औं मिनेटमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गर्न सकेनन् । रोनाल्डोको प्रहार इरानी किपर एलिरिजाले बचाएका हुन् ।
इरानविरुद्ध पेनाल्टीमा गोल गर्न नसके पछि गोल्डेनबुटका दाबेदार रोनाल्डोले इंग्ल्यान्डको ह्यारी केनसँग ५ - ५ गोलको बराबरी गर्ने मौका गुमाएको छ । रोनाल्डोले अहिलेसम्म ४ गोल गरेका छन् । जारी विश्वकपमा पेनाल्टीमा गोल गर्न नसके रोनाल्डो दोस्रो स्टार खेलाडी हुन् । यसअघि अर्जेन्टिनाका लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्न सकेका थिएनन् ।
खेलमा पोर्चुगल १ - ० ले अघि रहेको छ । रिकार्डो क्वारिष्माको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको हो । पहिलो हाफको ४५ औं मिनेटमा क्वारिष्माले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् ।
समूह बी मा रहेको पोर्चुगल र इरान आजको खेल जित्दै नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् ।
पोर्चुगलको ४ अंक छ भने इरानको ३ अंक छ । यो खेल जित्ने टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।