रिजवान बर्खास्त, पाकिस्तानको नयाँ कप्तान अफ्रिदी

काठमाडौं। तीव्र गतिका बलर शाहिन अफ्रिदी नेतृत्वमा फर्किएका छन्। उनले अब पाकिस्तानको एकदिवसीय (वनडे) टोलीको कप्तानी सम्हाल्ने भएका हुन्।
ओपनर तथा विकेटकिपर मोहम्मद रिजवानलाई हटाउँदै अफ्रिदीलाई नयाँ कप्तान नियुक्त गरिएको हो। पाकिस्तानी क्रिकेटमा परिवर्तनको लहर निरन्तर जारी छ। त्यसै क्रममा फेरि एकपटक नेतृत्वमा फेरबदल गरिएको हो।
नेतृत्व परिवर्तनको चर्चा पहिलेदेखि नै थियो। अन्ततः सोमबार इस्लामाबादमा बसेको बैठकमा यो निर्णय औपचारिक रूपमा गरिएको हो। बैठकमा प्रमुख प्रशिक्षक माइक हेसन, उच्च प्रदर्शन निर्देशक आकिब जावेद र राष्ट्रिय टोलीका छनोट समितिका सदस्यहरूको उपस्थितिमा अफ्रिदीलाई कप्तानका रूपमा छनोट गरिएको थियो।
रोचक कुरा के छ भने सन् २०२३ मा अफ्रिदीलाई टी–२० टोलीको कप्तान बनाइएको थियो। तर, कुनै स्पष्ट कारण नबताई एक सिरिजपछि नै उनलाई पदबाट हटाइएको थियो।
तर, पाकिस्तान सुपर लिग (पीएसएल) मा भने अफ्रिदी निकै सफल कप्तान साबित भएका छन्। उनको नेतृत्वमा लाहोर कलान्डर्सले सन् २०२२, २०२३ र २०२५ मा गरी तीन पटक उपाधि जितेको छ।
अफ्रिदीले हालसम्म ६६ वटा एकदिवसीय र ९२ वटा टी–२० खेल खेलेका छन्, जसमा उनले जम्मा २४९ विकेट लिएका छन्। साथै उनले ३२ टेस्ट खेलमा १२० विकेट झारेका छन्।