रोनाल्डोका छोरा पोर्चुगलको यु–१६ टोलीमा

काठमाडौं। के बुबाको योग्य उत्तराधिकारी बन्न सक्लान्, क्रिस्टियानो रोनाल्डो जुनियर? उनका बुबा क्रिस्टियानो रोनाल्डो त पोर्चुगलमा मात्र होइन, विश्व फुटबल इतिहासकै महान् खेलाडीमध्ये एक हुन्।
छोरा पनि अहिले उनकै बाटो पछ्याउँदै व्यवसायिक फुटबलतिर अघि बढिरहेका छन्। अब उनले त्यो यात्रामा अर्को महत्त्वपूर्ण कदम चालेका छन्।
पहिलो पटकका लागि पोर्चुगलको यु–१६ राष्ट्रिय टोलीमा स्थान पाएका छन्, रोनाल्डो जुनियरले। पोर्चुगलका कप्तान रोनाल्डोका जेठा छोरालाई टर्कीमा हुने एक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बोलाइएको हो। यो प्रतियोगिता अक्टोबर ३० देखि नोभेम्बर ४ सम्म टर्कीको अन्ताल्यामा सञ्चालन हुनेछ।
पोर्चुगिच फुटबल महासंघ (एफपीएफ) ले जारी गरेको विज्ञप्तिअनुसार १५ वर्षीय क्रिस्टियानो जुनियर (क्रिस्टियानिन्हो) लाई २२ खेलाडीको सूचीमा समावेश गरिएको छ।
क्रिस्टियानिन्हो पहिले नै पोर्चुगल यु–१५ टोलीका लागि पाँचवटा खेल खेलिसकेका छन्। गत मे महिनामा क्रोएसियामा भएको भ्लाट्को मार्कोभिच प्रतियोगितामा उनले पहिलोपटक यु–१५ टोलीका लागि खेलेका थिए। फाइनलमा ३–२ को जितमा उनले दुई गोल गर्दै सबैको ध्यान तानेका थिए।
त्यो प्रतियोगितामा उनले आफ्ना बुबाको जस्तै प्रसिद्ध ‘नम्बर ७’ जर्सी लगाएका थिए र बायाँ विंगरको भूमिकामा खेलेका थिए। ठीक त्यही स्थान जहाँबाट रोनाल्डोले आफ्नो करिअर सुरु गरेका थिए।
हाल रोनाल्डो जुनियर साउदी अरबको क्लब अल–नासरको युवा टोलीमा खेलिरहेका छन्। यसअघि उनले म्यानचेस्टर युनाइटेड र युभेन्ट्स दुवै क्लबका एकेडेमीमा प्रशिक्षण लिइसकेका छन्।