भारतको ह्वाइटवाश

काठमाडौं। भारतले वेस्ट इन्डिजविरुद्धको दुई टेस्ट खेलको शृंखला २–० ले जित्दै ह्वाइटवाश गरेको छ।
दिल्लीमा सम्पन्न दोस्रो टेस्टमा भारतले ७ विकेटको सहज जित निकाल्दै कप्तान शुभमान गिलको कप्तानीमा पहिलो शृंखला जित हासिल गर्यो।
पाँचौं दिनको खेल एक विकेटमा ६३ रनबाट सुरु गरेको भारतले सत्रको सुरुवातमै साई सुधर्शनलाई ३९ रनमा गुमायो। उनलाई वेस्ट इन्डिजका कप्तान रस्टन चेजले आउट गरे।
लगत्तै कप्तान गिल पनि धेरै टिक्न सकेनन्। पहिलो इनिङ्समा शतक बनाएका गिललाई पनि चेजले नै आउट गरे। तर, त्यसपछि केएल राहुल र ध्रुव जुरेलले सहज रूपमा लक्ष्य पूरा गर्दै भारतलाई जितसम्म पुर्याए।
अनुभवी ओपनर राहुलले १०८ बलमा ५८ रनको अविजित पारी खेले। उनको पारीमा ६ चौका र २ छक्का समावेश थियो।
पहिलो इनिङ्समा भारतले ५ विकेट गुमाएर ५१८ रन बनाएर इनिङ्स घोषणा गरेको थियो। जवाफमा वेस्ट इन्डिज २४८ रनमै अलआउट भयो। फलो-ऑनमा फेरि ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले कुल ३९० रन मात्र बनाउन सकेपछि भारतलाई १२१ रनको लक्ष्य मिलेको थियो, जुन उसले सजिलै पूरा गर्यो।