नेपालको लगातार चौथो हार

काठमाडौं। नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा लगातार चौथो हार बेहोरेको छ।
थोंग न्हाट स्टेडियममा सोमबार राति भएको समूह ‘एफ’ को खेलमा घरेलु टोली भियतनामसँग १–० ले पराजित भएको हो। पहिलो खेलदेखि नै संघर्षरत नेपाली टोलीले अहिलेसम्म समूह चरणका सबै खेल गुमाएको छ। जसमा दुई गोल गर्दा आठ गोल खाएको छ।
नेपालको यो हारसँगै आगामी चरणमा पुग्ने आशा सकिएको छ। खेलको पाँचौं मिनेटमै नेपाली डिफेन्डर सुमन श्रेष्ठको आत्मघाति गोलसँगै भियतनामले अग्रता लिएको थियो। त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल १–० मा टुंगियो। पहिलो लेगमा पनि भियतनामले नेपाललाई ३–१ ले हराएको थियो।
यससँगै नेपाल अंकविहीन अवस्थामा समूहको पुछारमा यथावत् छ। भियतनामले भने ९ अंक जोड्दै दोस्रो स्थानमा छ। मलेसिया शतप्रतिशत जित निकाल्दै १२ अंकसहित शीर्ष स्थानमा छ। लाओस ३ अंकका साथ तेस्रो स्थानमा छ।