काठमाडौं । एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिभागीय टोलीहरु त्रिभुवन आर्मी क्लव र एपीएफ क्लव आमने सामने हुने भएका छन् । शनिबार भएको वर्षाले प्रभावित दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिसलाई ९ रनले हराउँदै एपीएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा प्रदेश ५ लाई हराउँदै आर्मी फाइनलमा पुगेको हो । एपीएफ र आर्मीबीचको फाइनल खेल आइतबार टियू मैदान कीर्तिपुरमा हुनेछ । टियू क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले ४८.५ ओभरमा अलआउट हुँदै २०८ रन बनाएको थियो । एपीएफका लागि अनिल साहले ४५, पृथु बास्कोटाले ४०, रोहित पौडेलले ३२, प्रदीप ऐरीले २४, सुवास खकुरेलले २१ रन बनाए ।
पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ र ललित राजबंशीले २ तथा ,आरिफ शेख र सुशील कंडेलले १–१ विकेट लिए । एपीएफले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा १४.४ ओभरमा २ विकेटको क्षतिमा ५९ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । करिव डेढ घण्टा ढिला गरी पुनः सुरु गरिएको खेल २८ ओभरमा छोट्याइयो भने पुलिसले १४१ रनको नयाँ लक्ष्य पायो ।
तर, पुलिसले निर्धारित २८ ओभरमा ९ विकेटको क्षतिमा १३१ रनमात्र बनाउन सकेपछि एपीएफको ९ रनको रोमाञ्चक जित हासिल गरेको हो । पुलिसका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । सातौं नम्बरमा ब्याटिङमा आएका कुशल भुतेृलले बनाएको ३० रन पुलिसका ब्याट्सम्यानले बनाएको सर्बाधिक स्कोर हो । पुलिसका लागि ओपनर सुनील धमलाले २४ तथा दिलिप नाथले १६ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले १४, कप्तान मञ्जित श्रेष्ठले ११ तथा सिद्धान्त लोहनीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् ।
बलिङतर्फ एपीएफका अमरसिंह रौतेलाले ३ तथा कप्तान बसन्त रेग्मीले २ तथा कमलसिंह ऐरी तथा करण केसीले १–१ विकेट लिए । रौतेला खेलको म्यान अफ द म्याच चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भएको प्रतियोगिताको उपाधि विजेताले नगद २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय क्लब गरी १० टिमको सहभागिता थियो ।