काठमाडौं । सातौं संस्करणको मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोश्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता बैशाखमा आयोजना हुने भएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेश संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख २० र २१ गते काठमाडौंमा गर्ने जनाएको छ ।
प्रतियोगताको मिस्टर हिमालयतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथीको तौल गरि ६ वजन समूहमा प्रतिस्पर्धा गराईने छ । एउटा क्लब तथा संस्थाले प्रत्येक समूहमा बढिमा दुई खेलाडीलाई प्रतिस्पर्धा गराउन पाउने छ ।
प्रत्येक वजन समूहका खेलाडीहरुकाबीच २० गते हुने प्रिजजिङ्ग चरणबाट २१ गते हुने अन्तिम चरणका लागि प्रत्येक वजन समूहका ५ खेलाडी छनोट गरिने छ । प्रत्येक वजन समूहका शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदक, प्रमाण पत्रका साथै नगद २५, १५ र १० हजार प्राप्त गर्ने छन् । यस्तै चौथो र पाँचौ हुने खेलाडीले ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
यस्तै प्रत्येक वजन समूहका प्रथम स्थान हात पार्ने खेलाडीहरुले मिष्टर हिमालय उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । ओभरअल प्रतिस्पर्धामा प्रथम हुने खेलाडीले “मिस्टर हिमालय” उपाधीका साथै नगद २ लाख ५० हजार सहित ट्रफी तथा ब्यानेटले सुसज्जित हुनेछन् ।
यस प्रतियोगिता असार ५ र ६ गते काठमाडौंमा आयोजना गरिने १२ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको लागि छनोट प्रतियोगिता समेत रहेको संघले जनाएको छ ।
प्रतियोगिताकै दौरान शारीरिक सुगठन विधा अन्तरगत हुने दोश्रो पुरुष फिट्नेश फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ पनि आयोजना हुनेछ । उक्त स्पर्धामा पुरुष तर्फ १७० सेमि र त्यो भन्दा माथि गरि दुई विधा तथा महिला एथलेटिक्स फिजिक्सका खेलाडीहरुलाई प्रिजजिङ्ग चरणमा प्रतिस्पर्धा गराई प्रत्येक समूहबाट ५ खेलाडी दोश्रो दिन हुने फाईनल चरणका लागि छनोट गरिने छ ।
फाईनल चरणमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदक, प्रमाण पत्रका साथै नगद २५, १५ र १० हजार प्राप्त गर्ने छन् । यस्तै चौथो र पाँचौ हुने खेलाडीले ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।