श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

काठमाडौं। एसिया कपको समूह ‘बी’ का खेल विभिन्न कारणले धेरै चर्चामा रह्यो। यो खेलमै तीन टोलीको सुपर फो यात्राको निर्णय निर्भर थियो।
श्रीलंकाले जितेमा उनीहरूसँगै बंगलादेश पनि सुपर फोमा पुग्ने, तर अफगानिस्तान जितेमा बंगलादेश बाहिरिने सम्भावना थियो। अन्ततः श्रीलंकाले अफगानिस्तानलाई पराजित गर्दै बंगलादेशलाई समेत सुपर फोमा पुर्याएको छ।
अबुधाबीको शेख जाएद रंगशालामा बिहीबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हराउँदै सुपर फोमा आफ्नो स्थान पक्का गरेको हो। पहिले ब्याटिङ गर्दै अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो। जवाफमा श्रीलंकाले ८ बल बाँकी रहँदा लक्ष्य पूरा गर्यो।
अफगानिस्तानलाई पराजित गरेसँगै बंगलादेश र श्रीलंका समर्थक खुसी भए भने संघर्ष गरेर पनि दुई खेल हार्दा राशिद खानी टोली बाहिरियो। समूह ‘बी’बाट हङकङ पनि सबै खेल हार्दै बाहिरियो।
टस जितेर ब्याटिङ गर्न आएका अफगान ओपनर रहमानुल्लाह गुरबाज र सिद्दिकुल्लाह अतलले दुई ओभरमै २६ रन जोडे। तर, तुस्साराले लगातार विकेट लिएपछि अफगानिस्तान दबाबमा पर्यो।
गुरबाज ८ बलमा १४ रन, करिम जनत ३ बलमा १ रन अनि अतल १४ बलमा १८ रनमा आउट भए। ६४ रनमै चौथो विकेट गुमाएको अफगानिस्तानलाई दारविश रसुली (१६ बलमा ९) र अजमतुल्लाह उमरजाई (४ बलमा ६) ले निराश बनाए।
इब्राहिम जादरान पनि २७ बलमा २४ रनमा आउट भए। दबाबमा परेका बेला कप्तान राशिद खान र मोहम्मद नबीले सम्हाल्ने प्रयास गरे। उनीहरूको ३५ रनको साझेदारीलाई तुस्साराले तोडे।
राशिद २३ बलमा २४ रनमा आउट भए। त्यसपछि नबीले एक्लै टोलीलाई उकास्ने प्रयास गरे। श्रीलंकाका बलरमध्ये दुष्मन्थ चमिरा र दूनिथ भेल्लालागे महँगो भए। चमिराले ५० रनमा १ विकेट र भेल्लालागेले ४९ रनमा १ विकेट लिए।
लक्ष्य पछ्याउँदा श्रीलंकाले पावरप्लेमै ५३ रन जोड्यो तर दुई विकेट गुमायो। पाथुम निस्सन्का २२ रनमा र कामिल मिषारा ६ ओभरमा आउट भए। तर, कुशल मेन्डिसले पारी सम्हाल्दै कुशल परेरा र चारिथ असलंकासँग साझेदारी बनाए।
कुशल ५२ बलमा ७४ रन (१० चौका) प्रहार गर्दै ‘प्लेयर अफ द म्याच’ भए। असलंका १२ बलमा १७ रनमा आउट हुँदा ३१ बलमै ५१ रन चाहिएको थियो। त्यसपछि कमिन्दु मेन्डिसले १३ बलमा २६ रन जोड्दै कुशललाई साथ दिए। अन्ततः श्रीलंकाले सजिलै लक्ष्य पूरा गर्दै सुपर फोमा स्थान बनायो।