स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

काठमाडौं। स्पेनले सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकप फुटबल नखेल्ने सम्भावना देखिएको छ।
स्पेनी अखबार मार्काका अनुसार इजरायलले छनोटमा भएमा यस्तो हुने सम्भावना उच्च हुनेछ। सत्तारुढ समाजवादी समूहका प्रतिनिधि पाट्सी लोपेजले गरेको वक्तव्यपछि यस्तो सम्भावना सार्वजनिक भएको हो। स्पेनी सरकारले गाजाको अवस्थाका कारण इजरायललाई अन्तर्राष्ट्रिय खेल निकायले कारबाही गर्नुपर्ने माग राखेको छ।
यदि यस्तो नभए स्पेनी राष्ट्रिय टिमले प्रतियोगिताबाट नाम फिर्ता लिन सक्ने विकल्प खुला राखेको छ। यस प्रकारको कदम विश्व फुटबलको इतिहासमै पहिलोपल्ट हुने बताइएको छ। स्पेनी सरकारसँग राष्ट्रिय टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने वा रोक्ने अधिकार छ।
तर, यस्ता राजनीतिक हस्तक्षेपका कारण स्पेनी फुटबल संघलाई नै प्रतिबन्ध लाग्ने खतरा पनि छ। विश्व फुटबल नियामक संस्था फिफाले यस्ता हस्तक्षेपलाई सहन नगर्ने बताउँदै विगतमा पाकिस्तान र कङ्गोका फुटबल संघलाई निलम्बन गरिसकेको छ।