विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

काठमाडौं। तीन दिनदेखि काठमाडौंमा अलपत्र परेको बंगलादेश फुटबल टोली बिहीबार बिहान स्वदेश फर्किएको छ। टोलीलाई बिहान ११:३० पछि विशेष उडानमार्फत ढाका फर्काइन लागिएको हो।
टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको छ। बंगलादेश टोली दुईवटा खेल खेल्न काठमाडौं आएको थियो। तर, ६ सेप्टेम्बरमा सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।
अर्को खेल ९ सेप्टेम्बरमा हुने तय थियो। तर, ८ सेप्टेम्बरदेखि जेनजी आन्दोलन सुरु भयो। सोही कारण टोलीले सो दिन प्रशिक्षणसम्म गर्न पाएको थिएन।
८ सेप्टेम्बरमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएपछि ९ सेप्टेम्बरको खेल रद्द भएको थियो। त्यस दिनै टोली स्वदेश फर्कने तयारीमा थियो। तर, विमानस्थल बन्द भएकाले उनीहरू होटलमै अलपत्र परेका थिए। यद्यपि, बुधबार साँझबाट विमानस्थल खुलेपछि उनीहरू स्वदेश फर्किन लागेका हुन्।