५ पटकका विश्व च्याम्पियन ब्राजिललाई हराउँदै बोलिभिया प्ले–अफमा

काठमाडौं। सन् २००९ पछि पहिलो पटक बोलिभियाले ब्राजिललाई पराजित गर्न सफल भएको छ। यसअघि भएका चार खेलमा ३ वा सोभन्दा बढी गोलले हार्दै आएको बोलिभियाका लागि यो जित ऐतिहासिक बनेको छ।
२०२६ विश्वकप छनोटको अन्तिम खेलमा कार्लो एन्सोलोटीको ब्राजिललाई बोलिभियाले १–० ले हरायो। समुद्री सतहदेखि ४ हजार १५० मिटर उचाइमा खेल्दा पाहुना टोलीहरूलाई कठिन हुने गर्छ।
यसपटक ब्राजिलले पनि त्यही अनुभव गर्यो। खेलमा मात्र ४२ प्रतिशत बल नियन्त्रण राख्न सके पनि आक्रमणमा भने घरेलु टोली अगाडि रह्यो। बोलिभियाले २३ प्रहार गर्दै १० पटक लक्षित प्रहार गर्न सफल भयो।
ब्राजिलले १० मध्ये ३ मात्र टार्गेटमा राख्न सक्यो। यस जितसँगै बोलिभियाले पहिलो पटक विश्वकपमा पुग्ने आशा (इन्टर–कन्फेडरेसन प्ले–अफमार्फत) जीवित राखेको छ।
खेलको सुरुआतदेखि नै ब्राजिल आफ्नै लयमा देखिएन। सातौं मिनेटमा लुइस हाकिनको शक्तिशाली शटलाई ब्राजिलियन गोलकिपर एलिसन बेकरले रोक्नुपर्यो। करिब १० मिनेटपछि फेरि उनले टोलीलाई बचाए। ब्राजिलले पहिलो प्रहार ४० मिनेटमा मात्रै गर्न सक्यो।
तर, थपिएको समयमा ब्रुनो गुइमारेसले विपक्षी खेलाडीलाई फाउल गरेपछि बोलिभियाले पेनाल्टी पायो। त्यसैबाट मिगेल आञ्जेल टार्सेरोसले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
दोस्रो हाफमा पनि बोलिभियाले अग्रता दोब्बर गर्ने अवसर पायो तर बेकरले बारम्बार उत्कृष्ट बचाउ गर्दै ब्राजिललाई थप गोल खानबाट जोगाए। ५४औं मिनेट र ७१औं मिनेटमा भएका प्रयास उनले विफल पारिदिए।
ब्राजिलले पनि दोस्रो हाफमा खेलमा फर्कने केही अवसर पाए तर त्यसमा तीखोपन थिएन। अन्ततः १–० को हार बेहोर्नुपर्यो। यस जितसँगै बोलिभियाले इन्टर–कन्फेडरेसन प्ले–अफ खेल्ने योग्यता हासिल गरेको छ। खेलपछि बोलिभियाली टोलीले भावनात्मक रुपमा विजय उत्सव मनायो।
यस हारपछि ब्राजिल अंकतालिकामा दोस्रो स्थानबाट झर्दै पाँचौं स्थानमा पुगेको छ।