नेपाली राष्ट्रिय टोलीको भविष्य बंगलादेशको हातमा !

काठमाडौं। नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तिम पटक भएको २६ महिना नाघिसकेको छ। दुई सिजन सकिसक्नुपर्ने भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अहिलेसम्म लिगको कुनै तयारी गरेको छैन।
खेलाडीहरू गोल्डकप र स्थानीय प्रतियोगिताको भरमा जीवन धानिरहेका छन्। परिणाम स्वरूप ९० भन्दा बढी खेलाडीले फुटबलबाट पलायन भएर वैदेशिक रोजगारको बाटो अंगालिसकेका छन्, जसमा करिब ४० जना अस्ट्रेलियामै छन्।
राष्ट्रिय टोलीका लागि पनि खेलाडी अभाव भइरहेको छ। मुख्य प्रशिक्षक म्याट रसले अहिले राष्ट्रिय टोलीमा देखिएको खालि स्थान भर्न ओपन सेलेक्सनमार्फत नयाँ अनुहार भित्र्याउनुपरेको छ। तर, त्यस्ता छनोट लामो यात्रामा कति प्रभावकारी हुने हो भन्ने प्रश्न अझै अनुत्तरित छ।
यस्तै निराशाजनक वातावरणबीच भने दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) बाट एउटा सुखद खबर आयो। बंगलादेश फुटबल फेडरेसन (बीएफएफ)ले यस पटक दक्षिण एसियाली फुटबलरहरूका लागि व्यवसायिक लिग खेल्ने ढोका खोलिदिएको छ।
२०२५–२६ को प्रिमियर लिग सिजनमा सार्क राष्ट्रका खेलाडीलाई ‘स्वदेशी’ कोटामा राख्ने निर्णयले नेपाली खेलाडीलाई अकस्मात् अवसरसँगै राहत दिएको छ। १४ अगस्टमा सकिएको दर्ता प्रक्रियामा ४८ विदेशीमध्ये ११ जना सार्क मुलुकका रहे, जसमा आठ जना त नेपाली छन्।
सबैभन्दा ठूलो नाम नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ लिम्बू हुन्। नेपालका लागि १०७ खेल खेलेका उनी दुई–दुई पटक भारत र माल्दिभ्समा उत्कृष्ट गोलकिपर प्रमाणित भइसकेका छन्। एक वर्ष लिगविहीन जीवन बिताएका किरण यस पटक पत्नी र छोरासहित ढाका पुगेर फर्किएका छन्।
उनको लक्ष्य स्पष्ट छ– पुलिस एफसीसँग उपाधि जित्ने र व्यक्तिगत रूपमा ‘गोल्डेन ग्लोभ्स’ जित्ने। उनी भन्छन्, ‘जहाँ खेल्छु, लक्ष्य उत्कृष्ट बन्ने नै हुन्छ। यही कारण बंगलादेशमा पनि उत्कृष्ट गोलरक्षक बन्न चाहन्छु।’
पुलिस एफसीले किरण मात्र होइन, नेपाली टोलीका विंगर आयुष घलानलाई पनि अनुबन्ध गरेको छ। ब्रदर्श युनाइटेडले अञ्जन विष्ट, एरिक विष्ट, सनिश श्रेष्ठ र योगेश गुरुङलाई भित्र्याएको छ।
डिफेन्डर अभिषेक लिम्बू रहमतगञ्ज पुगेका छन् भने अनन्त तामाङ फर्सिट एफसीमा छन्। नेपालमै लिग बन्द हुँदा आ–आफ्नो करिअर खुम्च्याउन बाध्य खेलाडीहरूको लागि यो अवसर स्वप्निलजस्तै भएको छ।
किरणलाई पुलिस एफसीले आकर्षक प्रस्ताव दियो। उनका अनुसार यो टोली व्यवस्थित, संगठनात्मक पक्ष बलियो र सफल हुने लक्ष्य बोकेको छ। उनले परिवारसहित पाएको आतिथ्यको प्रशंसा गर्दै भने, ‘क्लबले घरजस्तै वातावरण बनाइदिएको छ। कुनै समस्या भए भन्नू भनेर हौसला दिएका छन्। सबै कुरा सहज छ।’
बंगलादेशले सार्क राष्ट्रका खेलाडीलाई ‘स्थानीय’ मान्ने निर्णयलाई उनले ठूलो अवसरका रूपमा हेरेका छन्। उनको विचारमा यसले छिमेकी मुलुकबीच खेलाडी आदानप्रदानको संस्कार निर्माण गर्नेछ। आसियन राष्ट्र कम्बोडिया, थाइल्यान्ड र इन्डोनेसियाले छिमेकी मुलुकलाई दिने ‘कोटा’ प्रणाली जस्तै।
आलोचकहरूले यस्तो निर्णयले स्थानीय खेलाडीले पाउँदै आएको मौका घटाउने भनेर आलोचना गरिरहेका छन्। तर, किरणको धारणा अलिक फरक छ। उनी भन्छन्, ‘म ठान्छु यसले लिगमा प्रतिस्पर्धा बढाउँछ। पूर्ण नतिजा केही समयपछि देखिन्छ। तर, बंगलादेशी लिगले अहिले दक्षिण एसियाको ध्यान तान्दै छ।’
डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले ९ वर्ष इन्डोनेसियाबाट व्यवसायिक लिग खेले। किरण आफैं ८ वर्ष भारत–माल्दिभ्समा खेलें। अहिले युवा मिडफिल्डर लाकेन लिम्बू भारतबाट कम्बोडियामा लिग खेल्न पुगेका छन्।
नेपालको अवस्थासँग बंगलादेशलाई तुलना गर्दा फरक झनै स्पष्ट हुन्छ। बंगलादेशको तुलनामा नेपाल पूर्वाधारमा धेरै पछाडि छ। वसुन्धरा किङ्सको कम्प्लेक्स मात्र हेर्ने हो भने पनि त्यसले नेपाल कति पछाडि छ भनेर प्रस्ट देखाउँछ।
किरण स्वीकार्दै भन्छन्, ‘पूर्वाधारमा नेपाल धेरै पछाडि छ। यहाँ मैदान र स्टेडियम बढी छन्। वसुन्धरा किङ्सकै कम्प्लेक्स हेर्नुहोस् अद्भुत छ।’
पूर्वधारको कमी, राजनीतिकरण र त्यसको बाछिट्टाले नेपाली फुटबल भविष्य ध्वस्त हुँदै गइरहेको छ। तर, बीएफएफको निर्णयले केही समय नेपाली खेलाडी र टोलीलाई जोगाइराख्ने आशा जगाएको छ।
अहिले बंगलादेशतिर लागेको लर्कोले पनि यही संकेत गर्छ।