तेस्रो भएर फर्कियो नेपाल

काठमाडौं। साफ यु–१७ महिला च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टोली स्वदेश फर्किएको छ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आइतबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग १–१ को बराबरी खेलेको थियो। योसँगै नेपाल एक जित र एक बराबरीको नतिजासहित तेस्रो हुन सफल भएको हो।
ती दुवै उपलब्धी नेपालले प्रतियोगिताकै कमजोर टोली भुटानसँग हात पारेको हो। उपाधि जित्ने लक्ष्यसहित थिम्पु पुगेको नेपाल ६ खेलमा १ मात्रै जित हात पार्न सफल रह्यो। उक्त जित पनि नेपालले पहिलो लेगमा भुटानमाथि नै निकालेको थियो।
उक्त खेलमा सहारा लिम्बूको सानदार दुई गोलसँगै नेपालले २–१ को पुनरागमन जित निकालेको थियो। सोही जित नै नेपाललाई तेस्रो बनाउन पर्याप्त बन्यो। नेपालले ६ खेलमा ४ अंक जोड्यो।
नेपालले उपाधि विजेता भारतसँग ७–० र ५–० को हार बेहोरेको थियो। बंगलादेशसँग भने ३–० र ४–१ को पराजय बेहोर्न पुग्यो। प्रतियोगितामा नेपाल र भुटानबाहेक भारत र बंगलादेश सहभागी थिए।