लिग्स कपको फाइनलमा मियामी पराजित

सिएटल। ओसाजे डे रोसारियोले २६औं मिनेटमा गरेको गोलको नेतृत्वमा सिएटल साउन्डर्सले सोमबार बिहान लिओनल मेसीसम्मिलित इन्टर मियामीलाई ३–० ले पराजित गर्दै लिग्स कपको उपाधि जितेको छ।
डे रोसारियोले एलेक्स रोडानको क्रसलाई हेडरमार्फत जाली चुमाउँदै प्रतियोगितामा आफ्नो चौथो गोल गरेका थिए। त्यसपछि ८४औं मिनेटमा रोडानले पेनाल्टीमार्फत गोल गरे भने पोल रोथरकले ८९औं मिनेटमा अर्को गोल थप्दै जितलाई सुनिश्चित गरे।
यस वार्षिक प्रतियोगिता (एमएलएस र लिगा एमएक्स क्लबबीचको) जितेसँगै साउन्डर्सले आगामी कन्काकाफ च्याम्पियन्स कपको अन्तिम १६ चरणमा सिधै प्रवेश पाएको छ। साथै, साउन्डर्स एमएलएस क्लब इतिहासमै पाँचवटै प्रमुख उपाधि (एमएलएस कप, कन्काकाफ च्याम्पियन्स कप, युएस ओपन कप, सपोर्टर्स’ शिल्ड र लिग्स कप) जित्ने पहिलो टोली बनेको छ।
तर, खेलपछि मैदानमा झगडा भयो। मियामी लिग्स कपमा पहिलोपटक गोलविहीन बनेपछि विवाद उत्पन्न भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोअनुसार मियामीका लुइस सुआरेजले साउन्डर्सका एक स्टाफमाथि थुकेको देखिन्छ।
२०२३ मा मियामीलाई लिग्स कप जिताएका मेसीले यसपटक गोल गर्ने धेरै अवसर पाए, तर उपयोग गर्न सकेनन्। सुआरेजले ४९औं मिनेटमा दिएको उत्कृष्ट पासबाट समेत मेसी गोल गर्न असफल भए र प्रतियोगितामा लगातार ३४औं खेलमा गोल गर्ने लक्ष्य अधुरै रह्यो।
साउन्डर्सले अझै बढी अन्तरले जित्ने अवसर गुमाएको थियो। ३९औं मिनेटमा जिसस फेरेराको प्रहार पोस्टमा ठोक्कियो भने ७२औं मिनेटमा रोथरकको प्रयास रोकियो।
दोस्रो हाफमा मैदान प्रवेश गरेका जर्जि मिनुङगुले पेनाल्टी बक्समा फाउल गराउँदै पेनाल्टी दिलाए, जसलाई रोडानले सफलतापूर्वक गोलमा परिणत गरेका थिए।