बंगलादेशसँगको खेलपछि भरतले सन्न्यास लिने

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका अनुभवी स्ट्राइकर भरत खवासले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बंगलादेशविरुद्धका मैत्रीपूर्ण खेलपछि ३३ वर्षीय भरतले सन्न्यास लिने भएका हुन्। नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्देछ।
उक्त दुई खेलपछि भरतले आफ्नो करियरलाई विदाइ गर्ने तयारी गरेको एन्फाले जनाएको छ। एन्फाले भनेको छ, ‘बंगलादेशविरुद्धका खेलपछि अन्तर्राष्ट्रिय करियर समाप्त गर्ने सोचमा रहेका कारण उनी राष्ट्रिय टोलीका लागि मैदानमा देखिने सम्भावना निकै उच्च छ।’
हालै एन्फाले घोषणा गरेको २३ सदस्यीय अन्तिम टोलीमा भरत पनि परेका छन्। उनी त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेलिरहेका छन्।
एन्फा एकेडेमीमार्फत उदाएका भरतले सन् २००८ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए। १५ वर्ष लामो यात्रामा उनले ६० भन्दा बढी खेल खेलेका छन् र १० गोल गरेका छन्।