युनाइटेडबाट निस्किएर चेल्सी पुगे गार्नाचो

काठमाडौं। चेल्सीले शनिबार म्यानचेस्टर युनाइटेडबाट बाहिरिएका एलेजान्ड्रो गार्नाचोलाई अनुबन्ध गरेको छ।
अर्जेन्टिनी अन्तर्राष्ट्रिय विंगर गार्नाचोले विश्व च्याम्पियन चेल्सीसँग सात वर्षे सम्झौता गरेका छन्। उनलाई चेल्सीले ४० मिलियन पाउन्ड (५४ मिलियन डलर) मा अनुबन्ध गरेको जनाइएको छ।
शनिबार फुलह्यामलाई २–० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको चेल्सीको खेल उनले स्ट्याम्फर्ड ब्रिजमा उपस्थित भएर अवलोकन गरेका थिए।
‘यो मेरो परिवार र मेरा लागि अविश्वसनीय क्षण हो। यस्तो महान् क्लबमा आउन पाउँदा म अत्यन्त उत्साहित छु। क्लब वर्ल्ड कप मैले हेरें र अहिले विश्व च्याम्पियनसँग खेल्न पाउनु विशेष कुरा हो। हामी संसारकै उत्कृष्ट टोली हौं। यहाँ आउन पाउनु अद्भुत लागिरहेको छ,’ गार्नाचोले भने।
युनाइटेडका लागि उनले १४४ खेलमा २६ गोल गरेका थिए, जसमा २०२४ को एफए कप फाइनलमा म्यानचेस्टर सिटीविरुद्धको २–१ को जितमा गरेको गोल पनि समावेश छ।
तर, नयाँ प्रशिक्षक रुबेन आमोरिमको योजनामा उनी नपर्दा एन्टोनी र जाडोन सान्चोसहित केही खेलाडी पहिलो टिमको प्रशिक्षण समूहबाट अलग गरिएका थिए।
गार्नाचोको आगमनसँगै यो सिजन ट्रान्सफर विन्डोमा चेल्सीको खर्च २५० मिलियन पाउन्ड नाघेको छ।
एन्जो मारेस्काले आफ्नो आक्रामक विकल्प बलियो बनाउन जोआओ पेड्रो, लियाम डेलाप, एस्टेभाओ र जेमी गिटेन्सलाई पनि टोलीमा भित्र्याएका छन्।
तर, शनिबार फुलह्यामविरुद्धको खेलमा लियाम डेलापको ह्यामस्ट्रिङ इन्जुरीले योजना प्रभावित भएको छ। डेलाप करिब ६–८ हप्तासम्म खेल्न नसक्ने भएकाले निकोलस ज्याक्सनको बायर्न म्युनिखमा ‘लोन मूभ’ रोकिएको बताइएको छ।
‘जब तपाईंसँग दुई स्ट्राइकर हुन्छन्, त्यो पर्याप्त हो। तर, जब एक जना केही हप्तासम्म घाइते हुन्छन् भने त्यो पर्याप्त हुँदैन,’ मारेस्काले डेलापको चोटबारे टिप्पणी गर्दै भने।