काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्न कार्यकारी समिति बैठकको आह्वान गरेको छ । आसन्न राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति र प्रदेश छनोटको बिषयमा निर्णय गर्न राखेपले कार्यकारी समितिको बैठक बोलाएको हो ।
राखेप सदस्य सचिव केशव कुमार विष्टले कार्यकारी समितिको बैठक माघ २४ गते बस्ने जानकारी दिए ।
‘आठौँ राष्ट्रिय खेलकुदको मिति र प्रदेश छनोटको बिषयमा बैठकले निर्णय गर्नेछ ।’ खेलपाटीसंग उनले भने, ‘राष्ट्रिय खेलकुदको मिति बोर्ड बैठकमा सिफारिस गछौ र प्रदेशको मिति तोक्छौ ।’
राखेपले मंसिर २४ गते देखि परिषद्का अनुसार ७७ वटै जिल्लामा सहभागि खेलको छनोट सकिएको छ ।
संघको विवादका कारण तेक्वान्दोको जिल्ला छनोट हुन सकेन । संघको विवाद समाधान नभएसम्म राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दोलाई समावेश नगर्ने राखेपको अडान छ ।
कार्यकारी समितिको बैठकले प्रदेश छनोटको मिति तोक्दै प्रतियोगिता सञ्चालनका लागि विभिन्न उपसमिति समेत गठन गर्नेछ ।
यस्तै, ओलम्पिक टर्चको बिषयमा समेत बैठकमा छलफल हुनेछ । सातौ राष्ट्रिय खेलकुद सम्पन्न भएको पुर्वाञ्चलबाट सातै प्रदेशमा टर्च लैजाने रुट र आवश्यक बजेटका बिषयमा बैठकले निर्णय गर्नेछ ।
आठौँ राष्ट्रिय खेलकुदको मिति तय नहुदाँ खेलाडीमा अन्यौलता छाएको छ । पुर्वाधार निर्माणको कारण देखाउँदै राखेपले प्रतियोगिता सर्ने बताउँदै आएको छ । आगामी बिहिबार बस्ने बैठकले आठौँको मितिका बिषयमा औपचारिक धारणा तय गर्नेछ ।