एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा पोर्चुगलले इरानसँग खेल्दैछ । समूह बी मा रहेको पोर्चुगल इरानबीचको खेल मोर्डोभिया एरिनामा राति ११ : ४५ बजेपछि सुरु हुनेछ ।
पोर्चुगल र इरान एक अर्कामा मैदान उत्रदा दुवैको लक्ष्य ३ अंक जोड्दै नकआउट चरणमा प्रवेश गर्नु हुनेछ । पोर्चुगलको ४ अंक छ भने इरानको ३ अंक छ । यो खेल जित्ने टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।
यस्तोमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुई टोलीबीचको खेलमा मुख्य त दुई खेलाडीको चर्चा हुनेछ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इरानका साइद इज्जाटोल्लाही चर्चामा रहने छन् ।
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
विश्वकपको पहिलो खेलमै ह्याट्रिक गरेका क्रिस्टियानो रोनाल्डो निकै लयमा छन् । स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले दोस्रो खेल मोरक्कोविरुद्ध पनि निर्णायक गोल गरेका थिए ।
३३ वर्षिय रोनाल्डो निकै अग्ला कदका खेलाडी हुन् । उनलाई अग्लो उचाईकै कारण धेरै ठाउमा फाइदा पुग्ने गर्छ । बल पोजिसन राख्न , लामा सट प्रहार गर्न,पेनाल्टी प्रहार गर्न र पाएका अवसरमा गोल गर्न माहिर मानिन्छन् रोनाल्डो ।
युरोपेली महारथी रियल मड्रिडबाट खेल्ने रोनाल्डो दुवै खुट्टाले बल खेलाउन सक्ने खुबी भएका खेलाडी हुन् । गत सिजन ला लिगामा २७ खेल खेलेका उनले २६ गोल गरेका थिए । रियललाई च्याम्पियन लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डो १३ खेल खेल्दै १५ गोल गरेका थिए ।
पोर्चुगललाई युरोकप जिताएका रोनाल्डोले विश्वकप छनोटमा पनि ९ खेल खेल्दै १५ गोल गरेका थिए । रोनाल्डोकै कारण आज इरानलाई गाह्रो हुने देखिन्छ ।
साइद इज्जाटोल्लाही (इरान)
रुस विश्वकपको नकआउट चरणमा पुग्न इरानलाई आजको खेल जित्नैपर्ने हुन्छ । पोर्चुगलविरुद्ध इरानलाई सहज भने छैन । तर, इरान जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
महत्वपूर्ण खेलमा इरानले पोर्चुगललाई हराउन मुख्य हतियार मिडफिल्डर साइद इज्जाटोल्लाहीलाई बनाउनेछ ।
इज्जाटोल्लाही रुसकै लिग अम्कार पम्पबाट खेल्ने गर्छन् । यहाँ १५ खेल खेलेका उनले १ गोल गरेका छन् । युरोपको प्रतिष्ठित लिग च्याम्पियन्स लिगमा २ खेल खेलिसकेका इज्जाटोल्लाहीले स्पेनविरुद्ध पुरा समय मैदानमा बिताएका थिए ।
२१ बर्षीय इज्जाटोल्लाही अग्ला कदका खेलाडी हुन्, बल नियन्त्रण गर्न, पास खेल्नमा माहिर मानिन्छन् । उनले मिडफिल्डमा राम्रो गर्न सके आज इरानी फरवार्डलाई गोल गर्न सहज हुने अनुमान गरिएको छ । इज्जाटोल्लाहीको प्ले मेकर भूमिकाले इरानको भाग्य तय हुने छन् ।