सनलाई भावुक बिदाइ

काठमाडौं। टोटनह्यामका कप्तान सन ह्युन–मिनले क्लबसँगको एक दशक लामो यात्राको अन्त्यको घोषणा गरेका थिए।
त्यसको भोलिपल्टै उनले दक्षिण कोरियाको सिओल वर्ल्डकप स्टेडियममा खेलेको मैत्रीपूर्ण खेलमार्फत भावुक बिदाइ पाए।
टोटनह्याम र न्युक्यासल युनाइटेडबीचको यो प्रि–सिजन मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो। तर, खेलको मुख्य आकर्षण सनको दोस्रो हाफमा भएको प्रतिस्थापन थियो।
सम्भवत: टोटनह्यामका लागि अन्तिम पटक मैदान उत्रिएका ३३ वर्षीय दक्षिण कोरियाली फरवार्डले मैदान छाड्ने क्रममा दुवै टोलीका खेलाडीहरूले उनलाई घेर्दै सम्मान दिए।
उनी अन्ततः बेञ्चमा फर्कंदा आँखा रसाएका थिए। टोटनह्यामका प्रशिक्षक थोमस फ्र्याङ्कले भने,‘पहिले हामीले मैदानको फन्को मार्यौं। त्यसपछि टोलीका सबै खेलाडीहरूले सनलाई घेरे। त्यो निकै भावुक क्षण थियो। ड्रेसिङ रुममा पनि उस्तै अवस्था रह्यो। मैले थोरै बोलें, मुख्य कुरो सनका लागि नै थियो। उसले पनि केही शब्द बोल्यो। त्यो एकदमै सुन्दर क्षण थियो।’
न्युक्यासलका प्रशिक्षक एडी हाउले पनि सनको प्रशंसा गरे। ‘हाम्रो खेलाडीहरूको प्रतिक्रिया स्वाभाविक थियो, जसले सनप्रति कस्तो सम्मान छ भन्ने देखाउँछ,’ हाउले भने, ‘सनलाई प्रिमियर लिगका महान् खेलाडीहरूमध्ये एकका रूपमा हेरिन्छ। उसले देखाएको प्रतिभा मात्र होइन, वर्षौंदेखि मैदानभित्र र बाहिर जस्तो व्यवहार गर्यो, त्यो पनि महत्त्वपूर्ण हो।’
टोटनह्यामका लागि ४५४ खेल खेल्दै १७३ गोल गरेका सनले यो खेलमा भने गोल गर्न सकेनन्। उनी मेजर लिग साकर (एमएलएस) क्लब लस एन्जलस एफसीसँग जोडिएको चर्चा चलिरहेको छ।
सनको चर्चित ‘क्यामेरा सेलिब्रेसन’ भने टिमका अर्का फरवार्ड ब्रेनन जोन्सनले गरे। उनले खेलको चौथो मिनेटमा १८ यार्ड बक्सको छेउबाट लो सटमार्फत टोटनह्यामलाई अग्रता दिलाएका थिए।
न्युक्यासलका लागि हार्भी बार्न्सले पहिलो हाफको अन्त्यतिर गोल गर्दै खेल बराबरीमा ल्याए। बायाँ साइडबाट बल लिएर भित्र छिरेका बार्न्सले बललाई शक्तिशाली प्रहार गर्दै नेटमा पठाए।
खेलको अन्तिम १० मिनेट बाँकी रहँदा टोटनह्यामका मिडफिल्डर जेम्स म्याडिसन घाइते भएर स्ट्रेचरमा मैदानबाट बाहिरिए। प्रशिक्षक फ्र्याङ्कले भने,‘हामीलाई लाग्छ यो उसले पहिले चोट बेहोरेको घुँडाकै समस्या हो।’
यो चोटका कारण म्याडिसनले अगस्ट १३ मा युरोपा लिग विजेता टोटनह्याम र च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) बीच हुने युएफा सुपर कप गुमाउने लगभग पक्का देखिएको छ। त्यसको दुई दिनपछि भने प्रिमियर लिगको नयाँ सिजन सुरु हुँदैछ।






-1762997834781.jpeg&w=3840&q=75)






