मेसीको ब्रेक !

काठमाडौं। इन्टर मियामीका कप्तान लिओनल मेसी आइतबार बिहान नेक्साकाविरुद्धको लिग्स कप खेलको ११औं मिनेटमै दाहिने खुट्टामा चोट लागेपछि मैदानबाट बाहिरिए।
खेलपछि मियामीका प्रशिक्षक जेभियर म्यास्चेरानोले मेसीलाई ‘ह्यामस्ट्रिङ’ को असहजता महसुस भएको बताए।
३८ वर्षे मेसीका जुलाई २०२३ मा मियामीमा आबद्ध भएका थिए। त्यसयता उनको सबभन्दा लामो निरन्तर स्वस्थ्य खेलको सिलसिलामा ब्रेक लागेको छ। उनले मेजर सकर लिग (एमएलएस) र क्लब विश्वकपसमेतका १६ लगातार खेलमा पूरै ९० मिनेट खेलेका थिए।
तर, गत साता २०२५ को एमएलएस अल–स्टार खेल गुमाएका कारण उनलाई एक खेलमा निलम्बन गरिएको थियो। मेसी उक्त निलम्बनपछि बुधबार राति एटलासविरुद्धको लिग्स कप उद्घाटन खेलमा फर्किएर दुई असिस्ट दिएका थिए, जसमा एक निर्णायक गोलमा परिणत भएको थियो।
तर,आइतबारको खेलमा मेसी मैदान छोड्दा सम्म दुवै टिमले गोल गर्न सकेका थिएनन्। उनी बाहिरिएपछि मियामीका टेलास्को सेगोभियाले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, मियामीका मार्सेलो वेगान्ड्टले विपक्षीको स्पष्ट गोल अवसर रोक्दा रातो कार्ड पाएपछि टिम १० खेलाडीमा सीमित भयो।
यसैको फाइदा उठाउँदै नेक्साकाले २–१ को अग्रता लियो। अन्तिम समयमा मियामीले बराबरी गोल फर्काएर खेललाई टाई ब्रेकरमा पुर्यायो र पेनाल्टी सुटआउटमा ५–४ ले जित हासिल गर्यो।
आठ पटकको बलोन डि’ओर विजेता मेसीले यसपटकको लिग्स कपमा गोल गरेका छैनन्। तर, एमएलएसमा भने उनी १८ गोलसहित शीर्ष स्कोररहरूमध्ये एक हुन्। उनको यो लगातार उपस्थिति उनी मियामीमा आएयता देखिएको सबभन्दा स्थायी प्रदर्शन थियो।
सन् २०२३ मा लिग्स कप जित्दासम्म सबै ७ खेल खेलेका मेसी त्यसपछि सिजनको अन्तिम १२ खेलमध्ये ६ मा मात्र देखिएका थिए। सन् २०२४ मा पनि उनले थुप्रै चोटसँग जुध्नु पर्यो। विशेषतः अर्जेन्टिनाका लागि २०२४ को कोपा अमेरिकाको फाइनलमा खेल्दै गर्दा खुट्टाको मांसपेशी च्यातिएपछि लामो विश्राम लिए।
त्यसो भए पनि उनले आफ्नो पहिलो पूर्ण एमएलएस सिजनमा १९ खेलमा २० गोल र १६ असिस्ट गर्दै २०२४ को एमएलएस सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका थिए।






-1762997834781.jpeg&w=3840&q=75)






