प्रभावशाली बार्सिलोना

काठमाडौं। बार्सिलोनाले दक्षिण कोरियाको एफसी सियोललाई प्रि–सिजनको दोस्रो खेलमा ७–३ को प्रभावशाली जित हात पारेको छ।
यो खेलमा बार्सिलोनाको आक्रमण क्षमता उत्कृष्ट देखिए पनि रक्षापंक्तिको कमजोरी भने फेरि सतहमा आयो। हान्सी फ्लिकको टिमले १० मिनेट नपुग्दै अग्रता लिएको थियो।
डानी ओल्मोले विपक्षीको डिफेन्सको नजिकै बल खोसेर आक्रमण थाले। उनले लामिन यमललाई पास दिए, जसको प्रहार पोस्टमा लागेर फर्किएको थियो। तर, अनुभवी स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले सजिलै ट्याप इन गर्दै गोल गरे।
१५औं मिनेटमा फेरि बार्सिलोना आक्रामक बन्यो। यमलले दायाँ विंगबाट भित्र कट गर्दै ओल्मोलाई थ्रु पास दिने प्रयास गरे। तर, बल फिर्ता आएपछि उनले आफैं बल प्रहार गरे।
उनको ग्रास बल एफसी सियोलका गोलकिपर काङ ह्योन–मु रोक्न सकेनन्। बार्सिलोनाको नम्बर १० जर्सीमा यमलले पहिलो पटक गोल गरेका हुन्। त्यसपछि घरेलु टोली एफसी सियोलले एउटा गोल फर्कायो।
बार्सिलोनाको बक्स नजिकै यमलबाट बल खोसेपछि किम जिन–सु ले चो यङ–उकलाई पास दिए। उनले नजिकैबाट गोल गर्दै खेललाई २–१ मा ल्याए। चो सम्भवत: अफसाइड जस्तो देखिए पनि खेलमैत्री प्रतिस्पर्धा भएकाले भिएआर प्रयोग गरिएको थिएन र गोल मान्य भयो।
बार्सिलोनाले केही राम्रा अवसर गुमाइरहेको बेला सियोलले खेल बराबरीमा ल्यायो। एन्डरसन ओलिभेराले याजन अबु अल–अरबलाई पास दिए र उनले बार्सिलोनाको हाई–लाइनको फाइदा उठाउँदै गोल गरे।
तर, त्यसको केही सेकेन्डमै यमलले आफ्नो दोस्रो गोल गर्दै पहिलो हाफको अन्त्यमा फेरि बार्सिलोनालाई ३-२ को अग्रता दिलाए। दोस्रो हाफमा प्रशिक्षक फ्लिकले पूरा टोली परिवर्तन गरे।
बार्सिलोना फेरि हाबी देखियो। ५५औं मिनेटतिर आन्द्रेयास क्रिस्टेन्सनले लामो दूरीबाट शक्तिशाली प्रहार गर्दै चौथो गोल गरे। त्यसपछि फेरान टोरेसले पाँचौं गोल थपे। ला मासियाका युवा जोफ्रे टोरेन्ट्सको उत्कृष्ट क्रसमा टोरेसले डिफेन्डरबाट छुट्दै सजिलै गोल गरे।
त्यसपछि गाभीले आफ्नो कमजोर खुट्टाबाट उत्कृष्ट फिनिस गर्दै छैटौं गोल थपे। खेल सकिन पाँच मिनेट बाँकी रहँदा एफसी सियोलले तेस्रो गोल फर्कायो, फेरि बार्सिलोनाको अगाडि सरेको डिफेन्सको फाइदा उठाउँदै।
अन्ततः मार्कस रास्फोर्डले बार्सिलोना खेलाडीका रूपमा पहिलो असिस्ट दिँदै टोरेसलाई सातौं गोलका लागि सेटअप गरे। यो जितमा बार्सिलोनाको आक्रमण पक्ष उत्कृष्ट देखिएको भए पनि रक्षापंक्ति अझै चिन्ताको विषय बनेको छ।
गत सिजन पनि यही क्षेत्र टिम कमजोर बनेको थियो। नयाँ सिजन सुरु हुनु अघिसम्म पनि यो समस्या हल नभएको देखिन्छ। फ्लिकले यो समस्या यथाशीघ्र सुधार गर्नुपर्ने देखिन्छ। तथापि, आक्रमणमा भने बार्सिलोना पहिले नै मिड–सिजनको जस्तो लयमा देखिएको छ।






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






