काठमाडौं । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले तेस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोलीलाई हराएको छ ।
इस्लामावादमा शनिबार भएको खेलमा नेपालले पाकिस्तानलाई १० विकेटले हराएको हो । पाकिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले ७ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पुरा गरेको थियो ।
नेपालको जितमा मनकेसी चौधरीले अविजित ५८ रनको अर्धशतकीय इनिङस खेलिन् । मनकेसी अर्धशतक बनाउने पहिलो नेत्रहिन महिला खेलाडी समेत बनेकी छिन् । यस्तै विनिता पुनले अविजित ३४ रन जोडिन ।
यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १०२ रन बनाएको थियो । पाकिस्तानकी फातिमाले २७ रन जोडिन । नेपालका भगवती भट्टराई र मुना अर्यालले एक एक विकेट लिए ।
खेलमा नेपालकी मनकेसी चौधरी प्लेयर अफ दि म्याच बनिन् ।
जितसंगै नेपालले ५ खेलको सिरिजमा २-० ले अग्रता बनाएको छ । नेपालले पहिलो खेलमा पनि पाकिस्तानलाई १० विकेटले हराएको थियो ।
यस खेल फैसलावादमा शुक्रबार तय भएको भएपनि वर्षाको कारण शनिबारको लागि सारिएको थियो । यसअघि बिहिबार तय भएको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको थियो ।