काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी ईन्फान्टिनोसंग भेटवार्ता गरेका छन् ।
एसिया कप फुटबलको समापन समारोहमा सहभागि हुन युएई पुगेका एन्फा अध्यक्ष शेर्पाले फिफा अध्यक्षसंग भेट गरेका हुन् ।
भेटका एन्फा अध्यक्ष शेर्पाले फुटबल संघमा नयाँ नेतृत्व आएपछि गरिएका कामको बिषयमा ईन्फान्टिनोलाई जानकारी गराएका थिए ।
‘एन्फाले सञ्चालन गरेको ग्रासरुट फुटबलदेखि उमेर समुहका बिभिन्न कार्यक्रम लगायतका बिषयमा फिफा अध्यक्षलाई जानकारी गराएका छौ ।’ नेपाल फर्कनु अघि एन्फा अध्यक्ष शेर्पाले खेलपाटीसंग भने, ‘हामीले एन्फाले सञ्चालन गरेका सबै कार्यक्रमका बिषय फिफा अध्यक्ष समक्ष प्रस्तुत गरेका छौ ।’
अध्यक्ष शेर्पाले फुटबल संघको काम कारबाहीमा फिफा अध्यक्षले खुसी व्यक्त गरेको बताए । ‘उहाँले एन्फाको कामलाई स्विकार गर्नुभएको छ ।’ शेर्पाले भने ।
भेटमा अध्यक्ष शेर्पाले फिफा अध्यक्षलाई नेपाल भ्रमणमा आउन निम्ता दिएका थिए । अध्यक्ष ईन्फान्टिनोले निकट भविष्यमा नेपालको भ्रमण गर्ने जनाएका थिए ।
युएई भ्रमणका क्रममा एन्फा अध्यक्ष शेर्पाले एएफसीका अध्यक्ष सेख सलमान बिन इब्राहिम अल खालिफासंग समेत भेट गरेका थिए ।