शीर्ष स्थानमा उक्लियो बागमती

काठमाडौं। सुशील साउदको घातक बलिङसँगै बागमती प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिगताको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
कालिञ्चोक क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा बागमतीले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।
यो नतिजासँगै बागमतीले ४ खेलमा ६ अंक जोडेको छ। चारै खेलमा पराजित गण्डकी अंकविहीन छ।
गण्डकीले दिएको १०४ रनको लक्ष्य बागमतीले २१.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
बागमतीका जोय थापाले अविजित रहँदै सर्वाधिक ३४ रन बनाए। ५३ बल खेलेका उनले ३ चौका प्रहार गरे। कप्तान प्रसिद्ध जैसीले २०, सूर्यान्शु कोइरालाले १८ र शविशक्ति महतोले अविजित १५ रनको योगदान दिए।
गण्डकीका सैलेश काफ्ले र सुशील भुसालले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको थियो।
गण्डकीका कप्तान सुप्रिम सुनारले सर्वाधिक ३२ रन बनाए। ५८ बल खेलेका उनले ६ चौका प्रहार गरे। रदिम पाण्डेले २४ रनको योगदान दिए।
बागमतीका सुशील साउदले सर्वाधिक ४ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ५ मेडनसहित १५ रन खर्चिए। शिवशक्ति महतोले ३ र ईशान शाह सुवेदीले २ विकेट लिए।