यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

नेपालगन्ज । जेन्जी आन्दोलनका कारण रोकिएको यु–१४ फुटबल प्रतियोगिता शनिबारदेखि नेपालगन्ज रंगशालामा सुरु भएको छ ।
प्रतियोगिता आयोजनाका लागि सहज वातावरण बन्दै गएकोले रोकिएका खेलहरु पुन संचालन गरिएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
शनिबार भएको खेलमा जित हासिल गर्दै कोहलपुरको ग्रीनपिस स्कुल र नेपालगन्जको युनाइटेड एजुकेशनल एकेडेमी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा ग्रीनपिसले मनकामना मावि नेपालगन्जलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा युनाइटेड एजुकेशनल एकेडेमीले दिपज्योती विद्याश्रमलाई १–० ले हराएको छ ।
ग्रीनपिसको जितमा रोहन सापकोटाले ह्याट्रिक गरे ।
उनले खेलको १७ औं, ३२ औं र ५० औं मिनेटमा गोल गरे । यसैगरी अर्को खेलमा युनाइटेडका आदित्य लम्सालले गोल गर्दै टोलीलाई जित दिलाए । आदित्यले खेलको ५० औं मिनेटमा गोल गरे ।
ग्रासरुटबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताए ।
प्र्रतियोगितालाई यु–१४ जिल्ला स्तरीय छनोट प्रतियोगिताको रुपमा पनि लिइएको छ । प्रतियोगिताबाट छनोट भएका खेलाडीले लुम्बिनी प्रदेश स्तरीय यु–१४ प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्नेछन् ।










