काठमाडौ । नेपाल रग्बी संघले नेपाली राष्ट्रिय पुरुष रग्बी टिमको लागि दोस्रो चरणमा १६ खेलाडी छनोट गरेको छ । सिंगापुरमा हुने एसियन रग्बी सेभेन्स ट्रफीका लागि संघले दोस्रो चरणमा १६ खेलाडी छनोट गरेको हो ।
पहिलो चरणमा छनोट भएका ३२ खेलाडीबाट अन्तिम १६ खेलाडी छनोट गरिएको हो । श्रीलंकन प्रशिक्षक राधिका हेत्तिराच्चीले एक महिनाको प्रशिक्षणबाट खेलाडी छनोट गरेका हुन् । छनोट भएका कुल १६ खेलाडीलाई १ महिनाको बन्द प्रशिक्षणपछि १२ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिने संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए ।
छनोट हुने खेलाडीमा कृष्ण क्षेत्री, विराटजंग एडी, निर्मल तामाङ, कृष्ण धमला, प्रेम कोइराला, श्रीराम श्रेष्ठ, विक्रम पुरी, जनक वाइबा, विराट श्रेष्ठ, हुत्रराज प्रधान, झुकेन्द्र राई, रामकिशोर चौधरी, सन्जय श्रेष्ठ, सिकिन्दर अधिकारी, सौगात राई र तुलाराम खत्री रहेका छन् ।
एसिया रग्बीको आयोजनामा अगामी ४ र ५ अगस्टमा हुने ट्रफीका लागि नेपाली पुरुष टोलीले २ महिनादेखि तयारी गरिरहेको संघले जनाएको छ । सोही ट्रफीका लागि रग्बी संघले विदेशी प्रशिक्षक राधिकालाई १ जुनदेखि नेपाली राष्ट्रिय टोलीमा नियुक्त गरिएको थियो ।