काठमाडौं । गिरिजा प्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिता झापामा आयोजना हुने भएको छ । नेपाल हक्की संघले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २६ देखी फागुन ४ गतेसम्म आयोजना हुने जनाएको छ ।
झापाको भद्रपुरमा आयोजना हुने प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश, नेपाल पुलिस, नेपाल आर्मी र पाकिस्तानको एक टोलीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।
प्राकृतिक मैदानमा हुने प्रतियोगिताको पुरस्कार राशी भने पछि घोषणा गरिने संघले जनाएको छ । यस्तै संघले पुरुष हक्की सकिएपछि फागुनमा विराटनगरमा महिला राष्ट्रिय हक्की प्रतियोगिता आयोजना गर्ने समेत बताएको छ ।
यस्तै पत्रकार सम्मेलनमा संघले आफ्नो संघको भाबी कार्यक्रम र अघिल्ला कार्यक्रमबारे समेत जानकारी गराएको थियो ।संघले सहभागिता जनाएको प्रतियोगिता र आयोजना गरेको प्रतियोगिताबारे जानकारी गराएको थियो ।
त्यस्तै पत्रकार सम्मेलनमा संघले हक्कीको विश्व वरियतामा नेपाल ८८ औं स्थानमा रहेको समेत जानकारी गराएको थियो । १४० राष्ट्र सदस्य रहेको हक्कीमा नेपाल शीर्ष १०० भित्र परेको हो ।