काठमाडौं। महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघ (क्यान)ले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। क्यानले बिहीबार हाल भारतको गुरुग्राममा उपचार गरिरहेका लोहनीलाई सहयोग गर्ने निर्णय गरेको हो।
सम्बन्धित समाचार
‘लोहनी हालसम्म उपचाररत रहेको जानकारी प्राप्त हुन आएको हुँदा निज खेलाडीलाई औषधी उपचारको लागि यस संघबाट थप पाँचलाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ,’ क्यानले भनेको छ।
मधेश प्रदेश क्रिकेट संघको आयोजनामा २०८० जेठ १५ देखि २६ सम्म उक्त प्रतियोगिता जनकपुरमा सञ्चालन भएको हो। उक्त प्रतियोगिता नसकिँदै अर्थात १९ गते गण्डकी प्रदेशका अमृत गुरुङले प्रहार गरेको बललाई ‘बाउन्ड्री लाइन’ मा रोक्नेक्रममा उनले घुँडाको गम्भीर चोट बोकेका हुन्।
क्यान आफैंले आयोजना गर्ने स्वीकृति दिएको प्रतियोगिताले के कति मापदण्ड पालना गरेको छ भन्ने कुनै हेक्का नै राखेको थिएन। सुस्ताएको क्रिकेटलाई उकास्न भन्दै प्रतियोगितालाई अध्ययन नै नगरी धमाधम स्वीकृति दिँदा उनी खेलाडी बिमाबाट वञ्चित भइसकेका थिए। त्यसैले उनलाई न त तत्काल सहयोग मिल्यो, न त उपचार खर्चको जिम्मेवारी कसैले लिएको थियो।
हालसम्म उनको उपचारमा २० लाखभन्दा बढी खर्च भइसकेको छ। अब अझै यही हाराहारीमा थप खर्च लाग्ने उनको अनुमान छ। यसअघि क्यानले उनलाई एक लाख रुपैयाँ राहत रकम दिएको थियो।