बंगलादेशले जोर्डन र इन्डोनेसियासँग त्रिदेशीय फुटबल खेल्ने

काठमाडौं। एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको बंगलादेशले फुटबल प्रतियोगिता खेल्ने भएको छ।
बंगलादेशले मे ३१ र जुन ३ मा जोर्डन र इन्डोनेसियासँग प्रतियोगिता खेल्न लागेको हो। यो प्रतियोगिता जोर्डनको अम्मानमा हुनेछ। बंगलादेश फुटबल फेडेरेसन (बिएफएफ) महिला विभागकी अध्यक्ष महफुजा अख्तर किरणका अनुसार टोली मे २७ मा अम्मान प्रस्थान गर्नेछ।
‘मुख्य प्रशिक्षक पिटर बटलर प्रतियोगिताको तयारी गराउन टोलीलाई अगाडि नै लैजान चाहनुहुन्छ,’ उनले भनिन्। प्रतियोगिताको खेल तालिका भने अझै सार्वजनिक भइसकेको छैन।
गत कार्तिकमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई २–१ ले पराजित गर्दै लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिप जितेयता बंगालदेशी खेलाडी मैदान उत्रिन पाएका छैनन्।
बलिया प्रतिस्पर्धी
फिफा वरीयतामा बंगलादेश १३३औं स्थानमा छ। जोर्डन ७१ र इन्डोनेसिया ९४औं स्थानमा छन्। बलियो टोलीसँग खेल्दा राम्रो तयारी हुने भएको कारण आफूभन्दा बलियो प्रतिस्पर्धी छानेको किरणले बताइन्।
‘छनोट अगाडि बलिया टोलीसँग खेल्नुको लक्ष्य भएकै प्रशिक्षकले आफ्नो टोलीमा रहेको कमजोरी बुझ्न सकून् भनेर हो। त्यसबाट हाम्रो टोली कसरी राम्रो बनाउने भन्ने योजना बनाउन सहयोग मिल्छ। त्यसैले हामीले जोर्डन र इन्डोनेसियासँग खेल्ने निर्णय गरेका हौं,’ उनले भनिन्।
किरण एएफसीको कार्यकारिणी समिति सदस्यसमेत हुन्। अप्रिल ६ देखि इङ्लिस प्रशिक्षक पिटर बटलरको प्रशिक्षण टोलीले तयारी सुरु गरिसकेको छ। अहिले ४० भन्दा बढी खेलाडी ‘क्याम्प’मा छन्। तर, हाल नौ सिनियर खेलाडी भुटान महिला लिगका विभिन्न क्लबमा अनुबन्ध भएका छन्। त्यसैले बटलरले मैत्रीपूर्ण खेलमा कुन टोली बनाउँछन् भन्नेमा हेर्न रोचक हुनेछ।
यी खेलाडी मानसिक समस्याबाट गुज्रिरहेको किरणले दाबी गरिन्। त्यसैले विश्राम दिन यी खेलाडीलाई भुटान पठाइएको उनको भनाइ छ। ‘यी खेलाडीमा केही मानसिक समस्याबाट गुज्रिरहेका थिए र केही फेरबदल र विश्राम आवश्यक थियो। त्यसैले उनीहरू आफैं पनि खेल्न चाहन्थे। लयमा फर्कन मद्दत गर्छ भन्ने सोचेर यी खेलाडीलाई भुटानी लिग खेल्न अनुमति दिइएको हो,’ उनले भनिन्।
यद्यपि, प्रशिक्षक बटलरले ती खेलाडीलाई टोलीमा फर्काउन चाहे फिर्ता बोलाइने उनले बताइन्। जुन २९ देखि जुलाई ५ सम्म हुने एएफसी छनोटमा बंगलादेश समूह ‘सी’ मा छ। यो समूहमा बंगलादेशसहित म्यानमार, बहराइन र तुर्कमेनिस्तान छन्।
हरेक समूहका विजेता अर्थात १२ टोलीले मात्रै अन्तिम चरणमा स्थान बनाउने छन्।








-1763515978900.webp&w=3840&q=75)




