काठमाडौं। नयाँ बस्ती युथ क्लबमाथि सहज जित निकाल्दै श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा श्री कुमारी २–० ले विजयी भएको हो। जितसहित श्री कुमारीले ६ खेलबाट ६ अंक बटुलेको छ। समान खेलबाट नयाँ बस्तीको पाँच अंक छ।
श्री कुमारीलाई जित दिलाउन सुजन राना र यमन महर्जनले गोल गरे। खेलको १४औं मिनेटमै सुजनको गोलमार्फत श्री कुमारीले सुरुआती अग्रता लिएको थियो। तर, दोस्रो गोल थप्न इन्जुरी समयसम्म कुर्न पर्यो।
इन्जुरी समयको दोस्रो मिनेटमा यमनले अर्को गोल गर्दै जित सुनिश्चित गराए।