काठमाडौं। नेपाली राष्ट्रिय टोलीका डिफेन्डर पूजा रानासहित तीन नेपाली खेलाडीले भुटान महिला राष्ट्रिय लिग खेल्ने भएका छन्।
नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक भोलानाथ सिलवालका अनुसार पुलिसकी डिफेन्डरसमेत रहेकी पूजा र मिडफिल्डरद्वय बिर्सना चौधरी र सम्झना लावतीले भुटानी लिग खेल्ने भएका हुन्। यी तीन जना खेलाडी विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु लिग खेल्दै आएका थिए।
‘यी तीन जनालाई नै भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसीबाट महिला लिग खेल्नेछन्,’ सिलवालले खेलपाटीसँग भने। एक सातापछिबाट सुरु हुने लिगमा १० क्लबले सहभागिता जनाउँदै छन्। उनका अनुसार यी तीन खेलाडीले पूरा सिजन नै ट्रान्सपोर्टबाट खेल्ने छन्।
यदि एएफसी महिला च्याम्पियन्स लिगमा छनोट भयो भने पनि यी तीन खेलाडीले ट्रान्सपोर्टबाट खेल्ने सिलवाले जानकारी दिए।
‘लिग सुरु हुँदैछ। एएफसी महिला च्याम्पियन्स लिग पुग्न त पहिला लिग जित्न पर्यो। लिग जितेर पुग्यो भने सायद यी खेलाडी खेलेर नै फर्किन्छन्,’ उनले भने। ट्रान्सपोर्टले यस संस्करणका लागि बंगलादेशका मसुरा प्रविन र रुक्मा चक्मालाई पनि अनुबन्ध गरिसकेको छ।