काठमाडौं। जोर्ज साएन्जको आत्मघाति गोलको सहयोगमा बार्सिलोना शनिबार ला लिगामा लेगानेसविरुद्ध १–० को कठिन जित निकाल्न सफल भयो। यस जितसँगै बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा सात अंकले अघि रह्यो।
रियलले आइतबार एलेभेससँग खेल्नेछ। तर, यसअघि नै ह्यान्सी फ्लिकको टोलीले महत्त्वपूर्ण तीन अंक हात पार्दै उपाधि होडमा आफ्नो अग्रता कायम राखेको छ। ‘टोलीले देखाएको संघर्ष र मानसिकता प्रशंसनीय थियो। रियलको खेल भोलि भए पनि हामी आफैंमाथि ध्यान केन्द्रित गरेका छौं। यो साता हामीले राम्रो नतिजा निकालेका छौं,’ फ्लिकले खेलपछिको प्रतिक्रिया दिँदै भने।
पछिल्लो डिसेम्बरमा क्याम्प नउमा लेगानेसले घरेलु टोली बार्सिलोनालाई १–० ले हराएको थियो। यसपल्ट पनि लेगानेसले ‘टाइम वेस्टिङ’, ‘ट्याक्टिकल फाउल’ र रक्षात्मक रणनीति अपनायो। यद्यपि, बार्सिलोनाको खेलमा सिजनभर देखिएको आकर्षण र गोल गर्ने धारिलोपन अभाव खड्कियो। तर, खेलपछि खेलाडीहरूले जितलाई ठूलो उत्सवको रूपमा मनाए।
बार्सिलोना सन् २०२५ को सुरुदेखि अहिलेसम्म २४ खेलमा अपराजित छ। यस्ता खेलहरू नै लिग जिताउने हुन्। ‘आज हामीले अग्रता बढाउन सफल भयौं र त्यो नै सबैभन्दा महत्त्वपूर्ण हो,’ रक्षक एरिक गार्सियाले भने।
डानी राबाले पहिलो हाफमा उत्कृष्ट अवसर सिर्जना गरे। तर, गोलरक्षक वोज्सेच शेन्स्नीले अद्भुत बचाउ गर्दै बार्सिलोनालाई जोगाए। बार्सिलोनाबाट जोलेस कुन्डेको एक मात्र प्रहार गोलरक्षक मार्को ड्मित्रोभिचले रोकिदिए।
अलेक्जान्ड्रो बाल्डे चोटका कारण पहिलो हाफमै मैदानबाट बाहिरिए। ‘स्थिति त्यति राम्रो देखिँदैन, तर हामी पर्खिन्छौं,’ प्रशिक्षक फ्लिकले भने।
दोस्रो हाफको सुरुमै फ्रेन्की डि जोङलाई मैदानमा उतारिएपछि खेलले केही गति लिएको थियो। त्यसपछि राफिन्हाको क्रस जोर्ज साएन्जको खुट्टाबाट डिफ्लेक्ट हुँदै आत्मघाती गोलमा परिणत भयो।
लेगानेस गोल खानु पछि केही आक्रामक भए पनि बार्सिलोनाले थप अवसर सिर्जना गर्न थाल्यो। फर्मिन लोपेजले सुनौलो अवसर गुमाए। रोवर्ट लेवान्डोस्कीको हेडर पनि बाहिरियो।
डिएगो गार्सियाले बराबरीको अवसर गुमाए भने ‘स्टपेज टाइम’मा बार्सिलोनाका पूर्वखेलाडी मुनीर एल हद्दादीले गोल गर्ने अवसर पाए। तर, इनिगो मार्टिनेजको उत्कृष्ट ट्याकलसँगै बार्सिलोनाले जित सुरक्षित गर्यो।
फ्लिकले अन्तिम बचाउबारे भने, ‘त्यो सेभ नै गोल बराबरको थियो, सबैले त्यसलाई उत्सवको रूपमा मनाए।’ लेगानेस १९औं स्थानमा छ र सुरक्षित स्थानभन्दा दुई अंकले पछाडि।
खेलपछिको प्रतिक्रिया दिँदै लेगानेसका मिडफिल्डर रेनेटो तापियाले भने,‘हामीले राम्रो खेलेका थियौं, तर हात खाली भयो। हामी अझै जीवित छौं भन्ने विश्वास आजको प्रदर्शनले देखायो।’ बार्सिलोनाका लागि भने यो जित लिग उपाधितर्फको अर्को महत्त्वपूर्ण पाइला साबित भएको छ।