काठमाडौं। लिओनल मेसीले अमेरिकन सकर लिग (एमएलएस) इन्टर मियामीसँग नयाँ सम्झौतामा गर्ने भएको छ। द एथ्लेटिकका अनुसार नयाँ सम्झौताबारे अन्तिम चरणको वार्ता भइरहेको छ।
आठपल्टको बालोन डी’ओर मेसीले जुलाई २०२३ मा इमियामीमा आवद्ध हुँदा दुई वर्षको सम्झौता गरेका थिए, जुन सन् २०२५ को अन्त्यमा समाप्त हुनेछ। यद्यपि, सन् २०२५ को एमएलएस सिजन सुरु हुनुअघि नयाँ सम्झौतामा सहमति हुन सकेको थिएन। तर, अहिले नयाँ सम्झौताको टुंगो नजिक पुगिसकेको छ।
सम्झौताको सबै बुँदाहरू अन्तिम चरणमा छन्। उनी क्लबको नयाँ स्टेडियम मियामी फ्रिडम पार्कमा सिजन २०२५ देखि खेल्ने निश्चितजस्तै देखिन्छ।
मियामीका सहमालिक जोर्ज मासले रेडियो मियामीसँग कुरा गर्दै भने,‘सबै कुरा सुन्दर मिलिरहेका छन्। यो मेसीको निर्णयमा भर पर्छ। मलाई लाग्छ आगामी ६०–९० दिनभित्र सबै कुरा निर्णय हुनेछ। मेरो सधैंको चाहना भनेको २०२६ मा हाम्रो नयाँ रंगशालामा मेसी खेलुन् भन्ने हो। आशा छ त्यो हुन्छ।’
३७ वर्षको उमेरमा पनि मेसी क्लबका सर्वश्रेष्ठ खेलाडी हुन्। यस सिजन उनले सबै प्रतियोगितामा आठ गोल गरेका छन्। उनले यस सिजन एमएलएसमा सबैभन्दा छिटो ४० गोल पुर्याउने खेलाडी बन्ने कीर्तिमान बनाएका छन् र क्लब इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडी पनि बनिसकेका छन्।
व्यक्तिगत उपलब्धिहरूको लामो सूची भए पनि मेसीको लक्ष्य मियामीलाई ठूला उपाधि जिताउने हो। उनले क्लबसँग मिलेर सन् २०२३ को लिग्स कप र २०२४ को स्पोर्ट्स शिल्ड जितिसकेका छन्। तर, एमएलएस कप अझै जित्न बाँकी छ।