काठमाडौं । ललितपुर सिटी एफसीले एक हजार 'फ्रि टिकेट' आफ्ना प्रशंसकलाई दिने भएको छ ।
शनिबार बुटवल लुम्बिनी एफसीविरुद्ध हुने खेलको एक हजार टिकेट आफ्ना फ्यानलाई दिन लागिएको क्लबले जनाएको छ ।
फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएलका शनिबार साँझ ललितपुर सिटी एफसीले बुटवलसँग खेल्दैछ ।
ललितपुर ४ खेलबाट ८ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गरेको छ । शनिबार बुटवललाई हराउँदै एनएसएल तालिकाको शीर्ष स्थानमा उक्लिने मौका ललितपुरलाई छ ।
'तेस्रो सिजनसम्म आईपुग्दा ललितपुरले सबैभन्दा धेरै माया फुटबल प्रशंसकबाट पाएको छ । उनै फ्यानलाई खेलसम्म डोर्याउन फ्रि टिकेट दिन लागेका हौं । यसलाई प्रशंसकप्रति क्लबको सम्मानको रुपमा हामीले लिएका छौं ।' क्लबका प्रबन्ध निर्देशक आलोक जोशीले भने ।
'फ्रि टिकेट' अपरान्ह साढे ४ बजेदेखि ५ बजेसम्म वितरण गरिने क्लबले जनाएको छ । दशरथ रंगशालास्थित युनाईटेड वर्ल्ड ट्रेड सेन्टरको ग्राउन्ड फ्लोरमा रहेको पेपे पिज्जामा गएर फ्यानहरुले टिकट लिन सक्नेछन् । पहिलो आउने फ्यानलाई प्राथमिकतामा राखेर टिकट वितरण गरिने ललितपुरले जनाएको छ ।
भाटभटेनी स्वामित्वको ललितपुर एनएसएलको साविक विजेता हो । तेस्रो सिजनमा समेत उत्कृष्ट नतिजा निकालिरहेको ललितपुरलाई उपाधिको दाबेदार टिमको रुपमा हेरिएको छ ।
