सिमरा। मच्छिन्द्र फुटबल क्लबविरुद्ध फराकिलो जित निकाल्दै हिमालयन शेर्पा क्लबले १४ वर्षपछि जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको छ।
उपाधिसँगै शेर्पाले १० लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता मच्छिन्द्रले पाँच लाख रुपैयाँमा चित बुझायो। गत संस्करणमासमेत फाइनलमा पराजित मच्छिन्द्र लगातार दोस्रोपटक उपविजेतामा सीमित बनेको हो।
सिमरा रंगशालामा शुक्रबार राति सम्पन्न १५औं संस्करणको फाइनलमा शेर्पाले मच्छिन्द्रलाई ४–१ ले पराजित गर्दै दोस्रोपल्ट गोल्डकपको उपाधि हात पारेको हो। शेर्पाले यसअघि शेर्पाले २०६७ सालमा आयोजित दोस्रो संस्करणको उपाधि जितेको थियो।
शेर्पालाई यस वर्षको पहिलो उपाधि दिलाउन कप्तान विश्वास श्रेष्ठले दुई गोल गरे। यस्तै, रोवर्ट खोङजो र समीरराज थोकरले समान एक गोल थपे। मच्छिन्द्रका रञ्जन पुनले एक मात्र सान्त्वना गोल गरे।
खेलको तेस्रो मिनेटमै शेर्पालाई कप्तान विश्वासले अग्रता दिलाएका थिए। २७औं मिनेटमा मच्छिन्द्रका रञ्जनले बराबरी गोल गरे। तर, मच्छिन्द्रले बराबरी गरेको केही बेरमै फेरि शेर्पाले अग्रता बनाएको थियो। रोवर्टको क्रसलाई समीरले गोलमा परिणत गर्दै शेर्पालाई २–१ को अग्रता दिलाए। पहिलो हाफको इन्ज्युरी समयमा रोवर्टले सानदार गोल गर्दै शेर्पाको अग्रता फराकिलो पारे। सेन्टर लाइनबाट एक्लै बल अघि बढाएका रोवर्टले मच्छिन्द्रको रक्षापंक्ती बिट गर्दै वन भर्सेस वनको स्थितिमा निकै आकर्षक गोल गरे।
पहिलो हाफमा ३–१ ले पछि परेको मच्छिन्द्र दोस्रो हाफमा सम्हालिन नपाउँदै १० खेलाडीमा सीमित बन्यो। मच्छिन्द्रका गोलरक्षक विशाल सुनार रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। शेर्पाका रोवर्टले किपर बिट गरेको अवस्थामा विशालले हातले उनको खुट्टा तानेर लडाइदिएपछि फिफा रेफ्री नवीन्द्र महर्जनले सिधै रातो कार्ड दिँदै विशाललाई मैदान बाहिर पठाए।
विशालले रातो कार्ड पाएपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले वैकल्पिक गोलरक्षक सुरेश सदालाई गोल पोस्टमा पठाउन अनिल खड्कालाई मैदानबाट फिर्ता बोलाएका थिए। शेर्पाले पाएको पेनाल्टी अवसरलाई कप्तान विश्वासले गोलमा परिणत गर्दै ४–१ को फराकिलो अन्तर बनाए।
विधागतमा पनि शेर्पा हाबी
फाइनल खेलको म्यान अफ द म्याच शेर्पाका अमित तामाङ घोषित भए। उनले १० हजार नगद प्राप्त गरे। मच्छिन्द्रका रोवर्ट प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। उनले इलेक्ट्रिक स्कुटर प्राप्त गरे। उच्च गोलकर्ताको पुरस्कार पनि रोवर्टले नै पाए। रोवर्टले प्रतियोगितामा सर्वाधिक तीन गोल गरेका थिए। क्वार्टरफाइनल र सेमिफाइनलमा १–१ गोल गर्दै दुवै खेलको म्यान अफ द म्याच बनेका रोवर्टले फाइनल खेलमा थप एक गोल गर्दै २५ हजार राशिको सो पुरस्कार जिते।
उत्कृष्ट गोलरक्षक शेर्पाका विवश चौधरी र उत्कृष्ट प्रशिक्षक शेर्पाका प्रज्ज्वलप्रताप क्षेत्री घोषित भए। उनीहरू दुवैले समान २५ हजार रुपैयाँ प्राप्त गरे। उदीयमान स्थानीय खेलाडीलाई प्रदान गरिने प्लेयरको अवार्ड आयोजक सिमराका सेरव लो तामाङ घोषित भए। उनले १५ हजार पाए। फेयर प्लेको ट्रफी सलहेश युवा क्लबलाई प्रदान गरियो।