काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गर्ने निर्णयमा माओवादी केन्द्रका बोर्ड सदस्यहरुले असहमती दर्ता गराएका छन् ।
कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै सम्पन्न हुनुपर्ने माग सहित माओवादीका चार बोर्ड सदस्य सहित पाँच जनाले नोट अफ डिसेन्ट लेखेका हुन् ।
बोर्ड सदस्यहरुले संघ निलम्बन गरेर तदर्थ समिति गठन गर्ने खेलकुद मन्त्रालयको निर्णयमा समेत असहमती जनाएका छन् । नेपाल ब्याडमिन्टन संघको विषय अदालतमा विचाराधिन अवस्थामा रहेको, नेपाल ह्यान्ड बलको निर्वाचनका लागि अन्तराष्ट्रिय ह्यान्ड बल महासंघ र ओलम्पिक कमिटीमार्फत निर्वाचन समिति गठन भएको हुदाँ मन्त्रालयले तदर्थ समिति गठन गर्न नसक्ने बोर्ड सदस्यको धारणा छ ।
माओवादी केन्द्रबाट बोर्ड सदस्यहरु रहेका प्रकाश कुमार कुसारी, दिपेन्द्र विष्ट, अन्जन धमला, अन्जना श्रेष्ठ र विना नवादे श्रेष्ठले ‘नोट अफ डिसेन्ट’ पेश गरेका हुन् । उनीहरुसँग विश्वविद्यालयबाट बोर्ड सदस्यमा आएका डाक्टर मधुसुधन सुबेदीले समेत नोट अफ डिसेन्टमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले जेठ ३ गतेदेखि १० गतेसम्म आयोजना गर्ने घोषणा गरिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई स्थगित गर्ने निर्णय गरेको छ । सो निर्णयको विरुद्धमा माओवादीका बोर्ड सदस्य उभिएका हुन् ।
खेलकुद मन्त्री तेजुलाल चौधरीले तीन पटक मिति सार्दै जेठको पहिलो साता कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गराएका थिए । तर शुक्रबार बोर्ड बैठकबाट दशौं स्थगित गर्ने निर्णय सुनाएका छन् ।
