काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न शुक्रबार बोलाईएको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।
शुक्रबार बिहान ११ बजे बोलाईएको बोर्ड बैठक अहिलेसम्म बस्न सकेको छैन, बैठकनै अन्यौलमा परेपछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ पहिलो साता आयोजना गर्ने सरकारको तयारीमा ‘ग्रहण’ लागेको छ ।
बिहीबार राखेप उपाध्यक्ष धुव्र आचार्य सहित एमालेका बोर्ड सदस्यहरुले युवा तथा खेलकुद मन्त्रीलाई भेट गरेर दशौंको विषयमा ध्यानाकर्षण गराएका थिए । सरकारको अहिलेको तयारी र समयले दशौं राष्ट्रिय खेलकुद जेठमा तोकिएको समयमा हुने सक्ने सम्भावना नदेखिएको भन्दै खेलकुद मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
राखेप उपाध्यक्ष र एमाले निकटका बोर्ड सदस्यको ध्यानाकर्षणपछि दशौंको तयारीको सन्दर्भमा निर्णय गर्न शुक्रबार बस्ने बोर्ड बैठक अन्यौलमा परेको छ । खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको आयोजना र सञ्चालमा बोर्डलाई आश्वस्त पार्न नसक्दा दशौं राष्ट्रिय प्रतियोगिता आयोजनामा ‘ग्रहण’ लागेको हो ।
‘सरकार सहित सिंगो खेलकुदमा लागेका अधिकारीहरु दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै होस् भन्ने छ । तर खेलकुद मन्त्रीले बोर्ड सदस्यहरुलाई विश्वस्त पार्न नसक्दा प्रतियोगिता कसरी हुन्छ भन्ने अन्यौल कायम छ ।’ एमाले निकट एक बोर्ड सदस्यले खेलपाटीसँग भने ।
राष्ट्रिय प्रतियोगिता सञ्चालन सम्बन्धि निर्देशिका मिच्दै खेलकुद मन्त्री चौधरीले दशौंको तयारीको सन्दर्भमा ११ उपसमिति गठन गरेका थिए । उप समिति गठन गरेर खेलकुद मन्त्रीले तयारी अघि बढाएको जस्तो देखिएपनि प्रतियोगिता आयोजना हुनेमा उपसमितिका संयोजक र सदस्यहरुनै विश्वस्त देखिदैनन् ।
सरकारले जेठ ३ देखि १० गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । दशौंका लागि खेलकुद सामाग्री लगायत खरिद प्रकृयालाई अन्तिम चरणमा पुर्याएको मन्त्रालयले राखेपको बोर्डनै प्रतियोगितालाई लिएर विभाजित हुने अवस्थामा पुगेपछि प्रतियोगिता आयोजना हुनेमा ग्रहण लागेको हो ।
खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेपछि खेलकुद मन्त्री चौधरीले तीन पटक दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सारिसकेका छन् ।