काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको उपविजेता संकटा युथ क्लबले भारतको गुवाहाटीमा हुने चौथो संस्करणको अन्तराष्ट्रिय सिईएम कप फुटबल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आसामको गुवाहाटीमा फेब्रुअरीको अन्तिम साताबाट सुरु हुने प्रतियोगिता खेल्ने संकटालाई पठाउने निर्णय गरेको हो । प्रतियोगिता फेब्रुअरी २७ बाट मार्च १४ सम्म आसामको कासा स्टेडियम दिफुमा सञ्चालन हुनेछ । प्रतियोगितामा ४ विदेशी र ८ घरेलु टिमले सहभागिता जनाउनेछन् ।
कार्बी आंगलोंग स्पोर्टस एसोसिएशनले आयोजना गर्ने प्रतियोगितामा संकटाले लिग चरणमा तीन म्याच खेल्ने क्लबका अध्यक्ष ईन्द्रमान तुलाधरले खेलपाटीलाई बताए ।
सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष चार भित्र रहने टोलीलाई एन्फाले विदेशी प्रतियोगितामा सहभागिताका लागि सिफारिस गरेको हो । लिगको तेस्रो स्थानमा रहेको थ्री स्टार र चौथो स्थानको आर्मीलाई एन्फाले भुटानको जिग्मे दोर्जे वाङ्चुक गोल्डकप खेल्न पठाउने निर्णय गरेको थियो ।
लिग विजेता मनाङले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।