बुटवल । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सुरक्षा समितिको बैठक बुधबार सम्पन्न भएको छ ।
बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा आयोजक कमिटी अन्तर्गतको सुरक्षा समितिले तीन वटै सुरक्षा निकायका प्रतिनिधिसँग शनिबारबाट सुरु हुने प्रतियोगिताको सुरक्षा व्यवस्थापनलाई लिएर छलफल गरेको छ ।
छलफलमा ट्राफिक प्रहरीका डिएसपी मधुसुदन न्यौपाने, नेपाल पुलिसका डीएसपी इन्द्र राना र एपीएफका डीएसपी दुर्गाबहादुर थापा सहभागी थिए ।
आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले मोफसलको प्रतिष्ठित गोल्डकपको रुपमा रहेको तिलोत्तमा गोल्डकपलाई सफल बनाउन सुरक्षा र ट्राफिक व्यवस्थापनमा सहयोगका लागि तीन वटै निकायलाई आग्रह गरेका थिए ।
उनले २३ औं संस्करणसम्म आइपुग्दा सुरक्षा र ट्राफिक व्यवस्थापनका दृष्टिकोणले सफल रहेको उल्लेख गर्दै शनिबारबाट ८ दिनसम्म चल्ने कार्यक्रमलाई समन्वय गरी सहकार्य गर्नुपर्ने बताएका थिए ।
तीन वटै सुरक्षा निकायका प्रमुखले शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा सक्दो सहयोग रहने प्रतिबद्धता जनाएका थिए । प्रतियोगितालाई सफल बनाउन आयोजक टिमसँग मिलेर काम गरिने तीन वटै सुरक्षा निकायको धारणा थियो ।
कार्यक्रममा एन्फाका केन्द्रिय उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार), महासचिव हिमाल गौचन, सुरक्षा कमिटीका प्रमुख प्रेम राना लगायतको उपस्थिती रहेको थियो ।
मोफसलको सबैभन्दा पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिताको २३ औं संस्करण आगामी शनिबारबाट बुटवलमा सुरु हुदैछ ।
प्रतियोगितामा दुई विदेशी सहित लिग च्याम्पियन चर्च ब्वाईज, मछिन्द्र सहित शीर्ष डिभिजनको उत्कृष्ट ६ क्लबले समेत सहभागीता जनाउँदैछन् ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको बुटवल उपमहानगरपालिका संरक्षक संस्था रहेको छ ।
यशोधा फुड्सको करेन्ट मुख्य प्रायोजक रहेको प्रतियोगितालाई खेलपाटी र डिसहोम नेटवर्कले प्रत्यक्ष प्रशारण गर्दैछन् ।