काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा सातै प्रदेशका रग्बी खेलाडीलाई नेतृत्व विकास सम्बन्धि तालिम प्रदान गरिएको छ । चाइल्ड फन्ड रग्बीको विशेष सहयोगमा संघले काभ्रेको नमोबुद्धमा खेलाडीको नेतृत्व विकास सम्बन्धि दुई दिने कार्यक्रम सञ्चालन गरेको हो ।
विश्व महिला रग्बीको पहल, चाइल्ड फन्ड रग्बीको सहयोगमा संघले नामोबुद्ध नगरपालिकासँगको सहकार्यमा ग्रासरुट टू ग्लोबल वुमन्स लिडरसिप फोरम कार्यक्रम सञ्चालन गरेको हो ।
सहभागी खेलाडीलाई नेपाल रग्बी संघकी कामना गिरीले प्रशिक्षण दिएकी थिईन् ।
नेपाल रग्बी संघकी महिला विभाग प्रमुख एलिशा थापाले सातै प्रदेशका ४० खेलाडीलाई दोस्रो चरणमा नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिईएको बताईन् । ‘पहिलो पटक सन् २०२२ मा पोखरामा ४५ जना खेलाडीलाई नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिईएको थियो । खेलाडीलाई खेलसँगै उनीहरुको नेतृत्व विकास गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।’ उनले भनिन् ।
कार्यक्रमकी फोकल पर्सन समेत रहेकी थापाले तालिमले खेलाडीको ब्यक्तिगत र खेल जीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा रहेको बताईन् ।
कार्यक्रममा लिडरसिप म्याप मेकिङ, सहभागी खेलाडीको अनुभव तथा खेल क्षेत्रमा लागेका महिलाको अवसर र चुनौती लगायतको विषयमा समेत छलफल गरिएको थियो ।

प्रशिक्षणमा सहभागी मध्य एक जनालाई अन्तराष्ट्रिय स्तरको ग्रासरुट टू ग्लोबल सबमिटमा सहभागी गराईने नेपाल रग्बी संघले जनाएको छ । प्रशिक्षणमा सहभागी खेलाडीलाई संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले प्रमाणपत्र प्रदान गरेका थिए ।