काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।
क्यानले बुधबार सार्वजनिक गरेको वर्गीकरणअनुसार पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख र सन्दीप लामिछानेसहित पाँच खेलाडी छन्।
नाबालिक बलात्कारको मुद्दा खेपेर ग्रेडविहीन भएका सन्दीप पुन: वर्गीकरणमा परेका हुन्। यस्तै, यसअघि ग्रेड ‘ए’ मा रहेका करण केसी र कुशल भुर्तेल भने घटुवामा परेका छन्।
ग्रेड ‘ए’ मा रहने खेलाडीले मासिक एक लाख रुपैयाँ तलब पाउने छन्। ग्रेड ‘बी’ मा रहने खेलाडीले भने ७० हजार रुपैयाँ पाउने छन्।
ग्रेड ‘बी’ मा कुशल र करणसँगै गुल्शनकुमार झा, ललितनारायण राजवंशी र अनिकुमार शाह छन्। ललित यसअघि पनि यही ग्रेडमा थिए। अनिललाई भने पहिलोपल्ट क्यानले वर्गीकरणमा समेटेको हो।
यस्तै, यसअघि ग्रेड ‘बी’ मा रहेका अलराउन्डर कुशल मल्लसँगै आरिफ शेखको घटुवामा परेका छन्। यी दुईसँगै सन्दीप जोरा र भीम सार्की ग्रेड ‘सी’ मा छन्।
सन् २०२५ केन्द्रीय सम्झौतामा रहने खेलाडीहरुको सम्झौता अवधि ६ महिना (जनवरीदेखि जुनसम्म) को हुनेछ। त्यसपश्चात खेलाडीहरूको प्रदर्शनका आधारमा बाँकी ६ महिना (जुलाईदेखि डिसेम्बरसम्म) को लागि पुनः वर्गीकरण गरि केन्द्रीय सम्झौता गरिने क्यानले जनाएको छ।
केन्द्रीय सम्झौतामा रहने पुरुष खेलाडी :–
ग्रेड ए – रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आशिष शेख
ग्रेड बी – कुशल भुर्तेल, गुलशन कुमार झा, करन केसी, ललितनारायण राजवंशी र अनिलकुमार साह
ग्रेड सी – सन्दीप जोरा, आरिफ शेख, भिम सार्की र कुशल मल्ल
ग्रेड डी – सागर ढकाल, लोकशबहादुर बम, साहव आलम, आकाश चन्द, विवेककुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव
उदीयमान– दीपेश प्रसाद कडेँल (कोशी), रुपेशकुमार सिंह (मधेश), शुभ कंसाकार (बागमती), अर्जुन कुमाल (गण्डकी), सन्तोष यादव (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदुरपश्चिम)
