विभाग बाहिरको टोलीविरुद्ध हाबी आर्मी

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मीले प्रदेशका टोलीमाथि आफ्नो दबदबा कायम राख्दै प्रधानमन्त्री कपमा लगातार दोस्रो जित हात पारेको छ।
बुधबार सम्पन्न खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि आठ विकेटको रबाफिलो जित निकालेको हो। सुदूरपश्चिमले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याएको आर्मीले २३.५ ओभरमा दुई विकेट गुमाउँदै ११९ रन बनायो।
आर्मीले सानदार सुरुआत गरेको थियो। ओपनरद्वय तीर्थराज दास र सन्तोष कार्कीले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे। तीर्थ ११.३ ओभरमा ३१ रन बनाएर खेलिरहँदा शेर मल्लको बलमा बोल्ड भए।
तेस्रो नम्बरमा आएका भीम सार्की एक रनमै पभिलियन फर्किए पनि कप्तान विनोद भण्डारीले सन्तोषसँग अर्को अर्धशतकीय साझेदारी गर्दै लगातार दोस्रो जित दिलाए।
सन्तोषले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए। ६३ बल खेलेका उनले १० चौका प्रहार गरे। विनोदले भने २८ बलमा दुई चौका र एक छक्कासहित २० रनको अविजित इनिङ्स खेले।
आर्मीले पहिलो खेलमा बागमती प्रदेशलाई १३४ रनले पाखा लगाएको थियो। सुदूरपश्चिमको भने यो दोस्रो हार हो।
पहिलो खेलमा कर्णाली प्रदेशलाई ७९ रनको नतिजा सुम्पिएको सुदूरपश्चिमले दोस्रो खेलमा गण्डकीमाथि ६ विकेटको जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने प्रयास गरेको थियो। तर, आर्मीविरुद्ध सफल हुन सकेन।
सुदूरपश्चिमका शेर र मिलन बोहराले समान एक विकेट लिए।








-1762758084543.jpg&w=3840&q=75)






