काठमाडौं। दुई खेलमा पराजय बेहोरेको नेपाल वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार नामिबियाविरुद्ध जितको दबाबसहित मैदान उत्रिँदै छ।
यस्तोमा नेपालले युगान्डाको एन्टेबे क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छन्। नेपाललले प्रतियोगिताको पहिलो खेलमा नामिबियालाई ६ विकेटको जित सुम्पिएको थियो।
यद्यपि, दोस्रो खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपालले प्रतियोगितामा पुनरागमन गर्ने संकेत देखायो। तर, तेस्रो खेलमा भने कप्तान इन्दु बर्माको खराब कलिङका कारण रुबिना क्षेत्री, बिन्दु रावल र कविता जैशीजस्ता ब्याटर रन आउटको सिकार हुँदा हङकङसँग नेपाल दुई रनले पराजित हुन पुग्यो।
जारी प्रतियोगितामा तीन खेल बाँकी रहँदा नेपाल दुई अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको कारण नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ।
अर्कोतर्फ नामिबिया पनि नेपालकै पदचापमा छ। नेपाललाई पराजित गरेयता उसले कुनै जित निकाल्न सकेको छैन। हङकङसँग चार विकेटले पराजित भएको नामिबियाले युगान्डालाई एक रनको नतिजा सुम्पिएको थियो। युगान्डा र हङकङ समान चार अंकसहित शीर्ष दुईमा रहँदा नामिबिया भने दुई अंकसहित पुछारमा छ।