काठमाडौं। पवन सर्राफको ब्याटिङ र रुपेश सिंहको सानदार बलिङसँगै मधेश प्रदेशले प्रधानमन्त्री कपमा सुखद् सुरुआत गरेको छ।
मंगलबार सम्पन्न खेलमा मधेशले कोशी प्रदेशलाई १६५ रनले हराएको हो।
जारी प्रतियोगितामा कोशीको यो लगातार दोस्रो हार हो। यसअघि लुम्बिनी प्रदेशले कोशीलाई २६ रनले पराजित गरेको थियो।
मधेशले दिएको २८५ रनको विशाल लक्ष्य पछ्याएको कोशीले ३३ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन मात्रै बनायो।
पेस रुपेश चम्किँएपछि कोशीका ब्याटर खुलेर खेल्न सकेनन्। सकिब हकले सर्वाधिक २५ रन बनाए।
४७ बल खेलेका उनले दुई चौका प्रहार गरे। सुजन थपलिया २४, फिर्दोश अन्सारी २१ र दीपेश कँडेल २० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।
९ ओभर बलिङ गरेका रुपेशले २९ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए। राजेश यादवले तीन विकेट लिँदा हरिशंकर साह र प्रदीप पासवानको नाममा समान एक विकेट रह्यो।
त्यसअघि सिद्धार्थ क्रिकेट स्टेडियमा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले ६ विकेट गुमाउँदै २८४ रनको योगफल तयार गरेको थियो।
मधेशका पवनले सर्वाधिक ९२ रन बनाए। ८५ बल खेलेका उनले ११ चौका र दुई छक्का प्रहार गरे। कप्तान अनिलकुमार साह ७५, हरिशंकर २९ तथा मंयक यादव र रुपेश १०/१० रनमा आउट हुँदा दीपेश दास ५६ रनमा अविजित रहे।
कोशीका प्रकाश कार्की र विपिन महतोले समान दुई विकेट लिए।